काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सूचना ढिलाइ सम्बन्धमा स्पष्टिकरण माग गरेको छ। संस्थाको सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले आव २०८१/८२ को वार्षिक साधारण सभा, सेयर दाखिल–खारेज तथा लाभांश सम्बन्धी निर्णय लिएको थियो। तर सो निर्णयसँग सम्बन्धित संवेदनशील सूचना नेप्सेको नट्स प्रणालीमा जेठ ७ गते मात्र अपलोड गरिएको पाइएको नेप्सेले जनाएको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा निर्णयहरू सोही दिन वा अर्को कारोबार दिन (बजार खुल्नु अघि, बिहान १०ः३० बजेभित्र) अनिवार्य रूपमा नेप्सेमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।
तर उक्त व्यवस्था विपरीत सूचना तीन कारोबार दिन ढिलाइ गरी मात्र अपलोड गरिएको देखिएकोले यस विषयमा किन यस्तो ढिलाइ भएको हो भन्ने स्पष्टिकरण तीन कार्य दिनभित्र पेश गर्न नेप्सेले ग्रामीण विकास लघुवित्तलाई निर्देशन दिएको हो।

