काठमाण्डौ । अमेरिका र इरानबीच अप्रिलदेखि लागू भनिएको युद्धविराम व्यवहारमा कमजोर बन्दै गएको देखिएको छ। अमेरिकाले हर्मुज जलमार्ग नजिक इरानी ड्रोन संरचनामाथि नयाँ सैन्य कारबाही गरेपछि मध्यपूर्व फेरि तनावको केन्द्र बनेको हो।
अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले इरानका चार आक्रमणकारी ड्रोन खसाल्नुका साथै बन्दर अब्बासस्थित एउटा ग्राउन्ड कन्ट्रोल स्टेशनमाथि हमला गरेको थियो। उक्त केन्द्रबाट अर्को ड्रोन उडाउन तयारी भइरहेको दाबी गरिएको छ। वाशिङ्टनले यसलाई रक्षात्मक र सीमित कारबाही भनेको छ।
तर इरानले भने अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्सले अमेरिकी सम्बन्धित तेल ट्यांकरलाई चेतावनी गोली चलाएर फर्काएको दाबी गरेको छ। त्यसपछि अमेरिकी सेनाले बन्दर अब्बास वरपर खुला क्षेत्रमा हमला गरेको इरानी पक्षको भनाइ छ।
हर्मुज जलमार्ग विश्व ऊर्जा व्यापारको सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी आपूर्ति यही मार्गबाट हुने गरेको थियो। अहिले दैनिक जहाज आवागमनमा करिब ८८ प्रतिशत गिरावट आएको रिपोर्ट सार्वजनिक भएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमाथि कुनै एक देशको नियन्त्रण स्वीकार्य नहुने बताएका छन्। इरानी सरकारी टेलिभिजनले इरान र ओमानको संयुक्त व्यवस्थापनमा समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रारम्भिक सहमतिको मस्यौदा बनेको दाबी गरेपछि ट्रम्पले त्यसलाई अस्वीकार गरेका हुन्।

