काठमाण्डौ । अमेरिकी रक्षा मन्त्रालयले चीनका केही ठूला प्रविधि तथा उद्योग कम्पनीहरूलाई ‘चिनियाँ सैन्य–सम्बन्धित कम्पनी’ को सूचीमा समावेश गरेको छ। यस सूचीमा ई–कमर्स कम्पनी अलिबाबा, ईभी सवारी निर्माता बीवाईडी तथा खोज इन्जिन तथा एआई कम्पनी बाइडु लगायत अन्य प्रमुख कम्पनीहरू पनि परेका छन्।
यो सूचीलाई अमेरिकी कानूनअन्तर्गत सेक्सन १२६० एच सूची भनिन्छ, जसको उद्देश्य चिनियाँ कम्पनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सैन्य गतिविधिसँग सम्बन्ध राखेको हुन सक्ने जोखिमबारे अमेरिकी संस्थाहरूलाई सचेत गराउनु हो।
यस सूचीमा समावेश हुनु भनेको तत्काल प्रतिबन्ध होइन। तर, यसले भविष्यमा ती कम्पनीहरूसँग अमेरिकी रक्षा निकायले व्यापार गर्न नपाउने, र अन्य अमेरिकी संस्थाहरूले पनि सावधानी अपनाउनुपर्ने अवस्था सिर्जना गर्छ।
पेन्टागनले ८० भन्दा बढी कम्पनीहरुलाई यो सूचीमा राखेको छ । यसअघि थपिएका कम्पनीहरु, क्याटएल, टेन्सेन्ट र हुवावे जस्ता कम्पनीहरु पनि सूचीमा यथावत छन् ।
अलिबाबा लगायतका कम्पनीहरूले आफूहरू कुनै पनि सैन्य गतिविधिसँग सम्बन्धित नरहेको दाबी गर्दै अमेरिकी आरोपको विरोध गरेका छन्। चिनियाँ पक्षले भने यस कदमलाई भेदभावपूर्ण भन्दै आलोचना गरेको छ।

