काठमाण्डौ । विश्वव्यापी मेमोरी चिप अभावका कारण अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने तयारी गरेको जनाएको छ। कम्पनीका सीईओ टिम कुकले द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा मूल्य वृद्धि अपरिहार्य रहेको बताएका छन्।
कुकका अनुसार एआईसम्बन्धी डेटा सेन्टरहरूको तीव्र विस्तारले मेमोरी चिपको माग अत्यधिक बढाएको छ। यसका कारण स्मार्टफोन, कम्प्युटर तथा अन्य उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने डिर्यामः र नान्ड चिपको आपूर्ति दबाबमा परेको छ र मूल्य उल्लेखनीय रूपमा बढेको छ।
‘हामीले ग्राहकहरूलाई मूल्यवृद्धिको असरबाट जोगाउने प्रयास गरेका थियौं, तर अहिलेको अवस्था दीर्घकालीन रूपमा धान्न सकिने छैन,’ कुकले बताएका छन्। यद्यपि, मूल्यवृद्धि कहिलेदेखि लागू हुनेछ र कुन–कुन उत्पादन प्रभावित हुनेछन् भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन।
विश्लेषकहरूका अनुसार आगामी सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको आईफोन १८ श्रृंखलामा मूल्य वृद्धि देखिन सक्ने सम्भावना छ। यसअघि नै एप्पलले केही म्याक उत्पादनहरूको मूल्य बढाइसकेको छ।
मेमोरी चिपको मूल्यवृद्धिको प्रभाव एप्पलमा मात्र सीमित छैन। विश्वभरका प्रविधि कम्पनीहरू एआई पूर्वाधार निर्माणका लागि आवश्यक चिपको बढ्दो मागका कारण लागत दबाबमा परिरहेका छन्। उद्योग विश्लेषकहरूले यो संकट २०२७ सम्म कायम रहन सक्ने चेतावनी दिएका छन्।
एप्पलमा १५ वर्ष नेतृत्व गरेपछि कुक आगामी सेप्टेम्बरमा पदबाट बाहिरिने तयारीमा छन्। उनको स्थानमा हाल हार्डवेयर इन्जिनियरिङ प्रमुख रहेका जोन टेनर्सले नेतृत्व सम्हाल्नेछन्।

