काठमाण्डौ । अष्ट्रलियाको एक अदालतले सामाजिक ञ्जिाल एक्सबाट केहि कन्टेन्ट हाइड गर्न निर्देशन दिएको छ । यो कन्टेन्ट गत साता सिड्नीमा भएको एकजना क्रिस्चियन पुजारीको मृत्युसँग सम्बन्धित छ ।
अदालतको यस्तो निर्देशन पछि एक्सका मालिक एलन मस्क र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजका बीच ‘वाकयुद्ध’ सुरु भएको छ । अदालतको आदेश पछि मस्कले भने,‘अदालतको आदेशको मतबल कुनै पनि देशले सम्पूर्ण इन्टरनेटमाथि नियन्त्रण गर्न सक्छ भन्ने हो ।’ ई–सेफ्टी कमिस्नरको पुरानो आदेश उल्लेख गर्दै मस्कले यस मामिलासँग सम्बन्धित कन्टेन्टहरु पूर्ण रुपमा हटाउन आदेश दिएको बताएका छन् ।
कमिस्नरको आदेशप्रति मस्कले अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई लक्षित गर्दै भने,‘प्रधानमन्त्रीलाई सम्पूर्ण पृथ्वीमा उनको अधिकार क्षेत्रध हुनुपर्छ भन्ने लाग्छ ।’ मस्कको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै अल्बानीजले भने,‘अष्ट्रेलियाले यो अहंकारी अरबपतिसँग जुध्नका लागि जे आवश्यक पर्छ त्यो सबै गर्नेछ । मस्क आफुलाई कानूनभन्दा माथि छु भन्ने सोच राख्छन् । कुनै व्यक्ति सामजिक प्लेटफर्ममा हिंस्रक कन्टेन्ट राख्न पाउनुपर्ने अधिकार माग गर्दै अदालत जान्छ भने यसले मिस्टर मस्क कति आउट अफ टच रहेछन् भन्ने दर्शाउछ ।’
अल्बानीजले सामाजिक मिडियाले सामाजिक जिम्मेवारी पनि निभाउन आवश्यक रहेको बताएका छन् ।
गत अप्रिल १५ मा सिड्नीको एक चर्चमा पुजारी मार म्यारी इम्यानुअललाई चक्कु प्रहार गरी हत्या गरिएको थियो । यो घटनामा दुईजना घाइते भएका थिए । यो घटनामा संलग्न १६ वर्षिय युवकलाई आतकंवादसँग सम्बन्धित मुद्दा दायर गरिएको छ । -एजेन्सी