काठमाण्डौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्ष युक हाङ वीर हाङ्गाम (डम्बर) को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्।
गाउँसभामा प्रस्तुत बजेट विवरणअनुसार कुल विनियोजनमध्ये चालू खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपैयाँ र पूँजीगत खर्चतर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपैयाँ छुट्याइएको छ।
वडास्तरको सेवा सञ्चालनका लागि प्रत्येक वडालाई ४ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ भने पूर्वाधार विकासका लागि न्यूनतम ६५ लाख रुपैयाँसहित सूत्रमा आधारित थप रकम जोडेर कुल ४ करोड २६ लाख रुपैयाँ वडास्तरीय योजनामा विनियोजन गरिएको छ।
“मेरिङदेनको पहिचानः समृद्धिको अभियान” भन्ने नारासहित ल्याइएको बजेटले मुख्य रूपमा पूर्वाधार विस्तार, सडक सञ्जाल विकास तथा सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले मेरिङदेन–३ दोभान बजारदेखि गाउँपालिका केन्द्रसम्मको सडकलाई कालोपत्रे गर्ने योजनालाई प्रमुख गौरवको आयोजनाका रूपमा अघि बढाएको जनाएको छ।
उपाध्यक्ष चोङबाङका अनुसार दोभान–गाउँपालिका सडकखण्डलाई चरणबद्ध रूपमा बजेट व्यवस्थापन गर्दै आगामी आर्थिक वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
साथै सो सडकलाई मेरिङदेन–६ नाल्बुसम्म विस्तार गरी दीर्घकालीन रूपमा कालोपत्रे गर्ने रणनीति पनि तय गरिएको छ।
बजेट प्रस्तुत गर्ने क्रममा उपाध्यक्ष चोङबाङले नीति, कार्यक्रम तथा बजेट निर्माणमा जनप्रतिनिधि, विकास साझेदार, बुद्धिजीवी, कृषक, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी, श्रमिक तथा देश–विदेशमा रहेका पालिकावासीबाट प्राप्त सुझावलाई समेटिएको जानकारी दिइन्।
गाउँपालिकाले आगामी वर्ष पूर्वाधारसँगै आर्थिक तथा सामाजिक विकासलाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
बजेट कार्यान्वयनमा सबै सरोकारवालाको सहकार्य आवश्यक हुने पनि गाउँपालिकाले जनाएको छ।

