आईतवार, असार १४,२०८३ 08:24:17
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:24:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्व बजारमा कच्चा तेल सस्तिदै, नेपालमा भने मूल्य नघट्दा महँगीको मारमा उपभोक्ता

Laxmi Sunrise Bank Limited
विश्व बजारमा कच्चा तेल सस्तिदै, नेपालमा भने मूल्य नघट्दा महँगीको मारमा उपभोक्ता

 

 

–रविन ठकुरी

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाली उपभोक्ताले घट्दो मूल्यमा पेट्रोल र डिजेल खरिद गर्न पाएका छैनन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ अमेरिकी डलरबाट घटेर प्रति ब्यारल ६८ देखि ७१ अमेरिकी डलर पुगिसक्दा पनि उपभोक्ताले घट्दो मूल्यमा पेट्रोल र डिजेल खरिद गर्न नपाएका हुन् ।

घट्दो मूल्यमा पेट्रोल र डिजेल उपभोग गर्न नपाउँदा नागरिकको भान्छा थप महङ्गो भइरहेको छ, विकास निर्माणदेखि मालवस्तु र सुनचाँदीको मूल्य उकालो लाग्ने क्रममा रहेका छन् । यसले आम नागरिकको दैनिकी थप कष्टकर बनाइरहेको छ ।

तर नेपाल आयल निगम भने पेट्रोल र डिजेलको नयाँ मूल्य सार्वजनिक गर्ने समय नभइसकेकाले पुरानै मूल्यसूचिमा काम गर्नुपरेको बताइरहेको छ । साथै कच्चा तेलको मूल्यमा गिरावट आएपनि प्रशोधित इन्धनको मूल्यमा खासै परिवर्तन नआएकाले पनि पुरानै मूल्य यथावत राख्नु परेको निगमको तर्क छ ।

किन घट्न सकेन इन्धनको मूल्य ?

अमेरिका र इरानबीच सैन्य टकराव तीव्र बन्दै जाँदा मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्न पुग्यो । हाल अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारण केन्द्रहरूलाई लक्षित गर्दै लगातार हवाई आक्रमण गरिरहेको छ ।

त्यसको जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य संरचनामाथि मिसाइल र ड्रोन आक्रमण गरेको हो । यसले विश्वकै प्रमुख तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यमा तनाव बढेको हो । यसको कारणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको थियो ।

विश्व अर्थतन्त्रसँगै इन्धन आयातमा निर्भर मुलुकहरूमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । तर हाल मध्यपूर्वमा तनाव कम भइरहेको छ । यो सँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि ओरालो लाग्ने क्रम जारी छ ।

युद्धको समयमा प्रतिब्यारेल ११० डलरभन्दा माथि पुगेको ब्रेन्ट क्रुड अहिले ६८ देखि ७१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । तेल आपूर्ति सहज बन्दै गएको छ । साथै स्ट्रेट अफ होर्मुज हुँदै हुने ढुवानी पुनः सञ्चालनमा आएपछि विश्व बजारमा मूल्य घटेको विश्लेषण गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेपाल आयल निगमले नेपाली उपभोक्ता र बजारलाई चाहिने पेट्रोल र डिजेल भारतको इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट खरिद गर्दै आएको छ । नेपालले आयात गर्ने कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ रहेको छ ।

(आईओसी) ले हरेक महिनाको १ र १६ गते नयाँ मूल्यसूची पठाउने गरेको छ । यसैको आधारमा नेपाली बजारमा प्रत्येक महिनाको १५–१५ दिनमा इन्धनको नयाँ मूल्य कायम हुने गर्दछ । अर्थात हाम्रो बजारमा उक्त अवधिमा स्वचालित मूल्य कायम हुने गर्दछ ।

‘हाल इरानको प्रतिबन्ध खुकुलो भएको छ । यसले कच्चा तेलको मूल्य घटाएको हो । प्रशोधित इन्धनको होइन । हामीले नेपालमा भारतबाट आएको प्रशोधित तेल चलाइरहेका छौं । यसले गर्दा यहाँ इन्धनको मूल्यमा खासै परिवर्तन भएको छैन । परिवर्तन भएपनि अबको २–३ दिन ९जुन १ तारिख० बाट इन्धनको मूल्यमा परिवर्तन हुन्छ ।’, नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भने ।

‘हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको माग कम छ । यसको वितरण बढी छ । प्रशोधित इन्धनको माग बढी छ भने उत्पादन साहृै कम छ । प्रशोधित इन्धनको माग बढी भएकाले बजारमा मूल्य घट्न नसकेको हो ।’, उनले भने ।    

तेलको मूल्य नघट्दा उपभोक्तामाथि महँगीको थप भार

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुन सकेको छैन । इन्धनको मूल्यमा कमी नआउँदा यसले उपभोक्तालाई राहत दिनुभन्दा उनीहरुको दैनिकीलाई थप कष्टकर बनाइरहेको छ ।

इन्धनको उच्च मूल्यका कारण ढुवानी, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको लागत बढ्न गएको छ । यसको प्रत्यक्ष असर नागरिकको जीवनयापनमा परिरहेको छ ।

‘सरकारको स्वामित्व रहेको आयल निगमले भाउ नघटाउनु उनीहरुको बदमासी हो । यसले हरेक क्षेत्रमा असर पुर्याएको छ । मालबस्तु, सुनचाँदी र विकास निर्माणमा असर पुर्याएर महङ्गी बढाएको छ । आम नागरिकको भान्छा महङ्गो बनाएको छ । उनीहरुको दैनीकी थप कष्टकर बनाइरहेको छ ।’, राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेम लाल महर्जनले भने ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा तत्कालै मूल्य वृद्धि हुने गर्दछ । तर घट्दा राहत पाउन लामो समय कुर्नुपर्ने अवस्थाले आम उपभोक्ता दिनानुदिन प्रताढीत बन्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु नेपालका लागि विदेशी मुद्रा बचत, व्यापार घाटा न्यूनीकरण तथा महँगी नियन्त्रणको अवसर हो ।

तर स्वचालित मूल्य निर्धारण प्रणाली पारदर्शी रूपमा कार्यान्वयन हुन नसक्दा उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन् । नेपाल आयल निगमले इन्धनको मूल्य तत्काल समायोजन गर्न नसकिने बताइरहेको छ । यसका लागि निगमले प्राविधिक कारण प्रस्तुत गर्दै आइरहेको छ ।

साथै उसको दाबी विगतको अभ्याससँग मेल पनि खाइरहेको छैन । गत चैत महिनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै निगमले एक महिनाभित्रै पाँच पटकसम्म इन्धनको मूल्य बढाएको थियो ।

तर अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दासमेत निगमले मूल्य समायोजनमा ढिलाइ गरिरहेको छ । यसले निगमलाई आलोचित बनाएको छ । साथै यसले गर्दा उपभोक्ता महङ्गीको शिकार बनिरहेका छन् । महङ्गीलाई थेग्न नसकेर आम नागसरकले गुहार मागिरहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कच्चा तेल सस्तो भए पनि किन तुरुन्त घट्दैन पेट्रोल–डिजेलको मूल्य ?

विश्व बजारमा कच्चा तेलको मूल्य घटे पनि पेट्रोल र डिजेलको मूल्य तत्कालै वा सोही अनुपातमा नघट्ने गर्दछ ।

पहिलो कारण प्रशोधन लागत र मार्जिनलाई मानिएको छ । यस अन्तर्गत कच्चा तेललाई पेट्रोल, डिजेल, जेट इन्धनजस्ता उत्पादनमा रूपान्तरण गर्न रिफाइनरी सञ्चालन, ऊर्जा प्रयोग र श्रम खर्च लाग्छ । यी लागतहरू स्थिर हुने भएकाले कच्चा तेल सस्तो भए पनि अन्तिम उपभोक्ता मूल्यमा ठूलो गिरावट तुरुन्त देखिँदैन ।

दोस्रो कारणमा पुरानो महँगो स्टकको प्रभाव हो । यस अन्तर्गत तेल कम्पनीहरूले पहिले नै महँगो मूल्यमा खरिद गरेको कच्चा तेल वा तयार इन्धन स्टकमा राखेका हुन्छन् । यस्तो अवस्थामा नयाँ सस्तो मूल्य तत्काल बजारमा पूर्ण रूपमा प्रतिबिम्बित हुन समय लाग्छ ।

तेस्रो कारणमा कर र शुल्कको ठूलो हिस्सा हो । यस अन्तर्गत धेरै देशमा पेट्रोल र डिजेलको मूल्यमा कर, भन्सार तथा अन्य सरकारी शुल्कको हिस्सा उच्च हुन्छ । कच्चा तेल सस्तो भए पनि यी करहरू परिवर्तन नभएकाले कुल मूल्यमा ठूलो प्रभाव पर्दैन ।

चौथो कारणमा बजार रणनीति र प्रतिस्पर्धा हो । यस अन्तर्गत तेल कम्पनीहरू र आपूर्तिकर्ताहरूले घाटा न्यूनीकरण र स्थिर नाफा कायम राख्न मूल्य समायोजन क्रमशः गर्छन् । जसले अन्तर्राष्ट्रिय बजारको उतार–चढाव तत्काल उपभोक्तासम्म पुग्न दिँदैन ।

पाँचौँ कारणमा विनिमय दरको असर हो । कच्चा तेल अमेरिकी डलरमा कारोबार हुने भएकाले स्थानीय मुद्रा कमजोर हुँदा अन्तर्राष्ट्रिय मूल्य घट्दा पनि स्थानीय बजारमा यसको प्रभाव सीमित हुन सक्दछ ।

साथै कच्चा तेलको मूल्य घट्नु इन्धन सस्तो हुने एक महत्वपूर्ण संकेत हो । तर प्रशोधन लागत, कर संरचना, पुरानो स्टक र बजार रणनीतिजस्ता कारणले यसको प्रभाव उपभोक्ता मूल्यमा ढिलोगरी देखिने गर्दछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.