बिहीबार, श्रावण १४,२०८३ 02:19:00
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:19:00
Bizshala
Global IME Bank Limited

योग्य संस्थागत लगानीकर्तासँग टाइम फर्मास्युटिकल्सको रोड शो सम्पन्न, प्रतिसेयर औसत मूल्य कति ?

योग्य संस्थागत लगानीकर्तासँग टाइम फर्मास्युटिकल्सको रोड शो सम्पन्न, प्रतिसेयर औसत मूल्य कति ?
New Office

काठमाण्डौ । गैँडाकोट नगरपालिका–४ मा केन्द्रीय कार्यालय तथा गैँडाकोट–१०, भैसाखोरीमा उत्पादन उद्योग सञ्चालन गर्दै आएको करिब २९ वर्ष पुरानो औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्तासँग रोड शो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

काठमाण्डौस्थित होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा सहभागी लगानीकर्तालाई आशयपत्र फारम वितरण गरिएको थियो। उक्त फारम धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा टाइम फर्मास्युटिकल्सबाट समेत प्राप्त गर्न सकिने जानकारी दिइएको छ।

कम्पनी सचिव अधिवक्ता सुदीप घिमिरेका अनुसार बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम २०८२ चैत २४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न भएको थियो। उक्त सम्झौतापछि नेप्सेको संयोजकत्वमा नेप्से, कम्पनी तथा बिक्री प्रबन्धकका प्रतिनिधिहरू सम्मिलित समन्वय समिति गठन गरिएको थियो।

समितिको पहिलो बैठक २०८३ असार १ गते सम्पन्न भएको थियो भने दोस्रो बैठक असार १८ गते नेप्सेको कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ। दोस्रो बैठकको निर्णयअनुसार योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् भने असार २९ गते बोलपत्र खोलिने कार्यतालिका तय गरिएको छ।

कम्पनीले जारी पूँजी ५३ करोड रुपैयाँको २०.५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबर हुनेछ। निष्कासन गरिने कुल सेयरमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी सेयर सर्वसाधारणका लागि जारी गरिने बिक्री प्रबन्धकले जनाएको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष डा. जी. नारायण बहादुर क्षेत्रीले १ करोड रुपैयाँ चुक्तापूँजी, २५ कर्मचारी र ८ प्रकारका औषधि उत्पादनबाट यात्रा सुरु गरेको कम्पनी हाल ६० करोड रुपैयाँ अधिकृतपूँजी, ३५० भन्दा बढी कर्मचारी तथा २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै राष्ट्रिय बजारमा स्थापित भएको जानकारी दिए। उनले नेपालमै पहिलोपटक केही नवीन औषधि उत्पादन प्रविधिको सुरुआत गरिएको र त्यससम्बन्धी प्रतिवेदन छिट्टै सार्वजनिक हुने पनि बताए।

कम्पनीले विभिन्न मूल्याङ्कन विधिको आधारमा प्रतिसेयर औसत मूल्य ६६६.७८ रुपैयाँ निर्धारण गरेको जनाएको छ। बुक बिल्डिङ प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि भने ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरिएको छ।

कम्पनीका अनुसार वित्तीय विवरण, प्रारम्भिक विवरणपत्र तथा मूल्याङ्कन प्रतिवेदन कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमार्फत पनि अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.