काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले आर्थिक गतिविधि विस्तार, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि तथा वित्तीय प्रणालीमा रहेको पर्याप्त तरलताको प्रभावकारी परिचालनलाई ध्यानमा राख्दै ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको हो।
मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आगामी आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रमा जाने कर्जा ११ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिए।

