बिहीबार, असार २५,२०८३ 05:47:15
Bizshala
  • बिहीबार, असार २५,२०८३ 05:47:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो

Laxmi Sunrise Bank Limited
सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो

-रविन ठकुरी

 

काठमाण्डौ । सुनको मूल्य निरन्तर उकालो लाग्दा बजारमा खरिदकर्ता घटेका छन्। तर, त्यही महँगो सुन अहिले धेरैका लागि ‘नगद जोहो गर्ने आधार’ बन्दै गएको छ। एकातिर सुन पसलमा नयाँ गहना किन्ने ग्राहक घटिरहेका छन्, अर्कोतिर बैंक तथा वित्तीय संस्थामा सुन–चाँदी धितो राखेर कर्जा लिनेहरूको संख्या बढ्दै गएको छ।

यही विरोधाभासले अहिले नेपाली सुन बजारको वास्तविक अवस्था देखाइरहेको छ-सुन किन्ने क्षमता घट्यो, तर सुन धितो राखेर पैसा चलाउने बाध्यता बढ्यो।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। त्यसमाथि ‘सीप प्रवद्र्धन शुल्क’ शीर्षकमा अन्तिम उपभोक्ताबाट ५ प्रतिशत थप शुल्क असुल्ने व्यवस्था गरिएको छ। यो व्यवस्था साउन १ गतेदेखि लागू हुँदैछ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागिरहेका बेला नेपालमा थप करको भारले सुन अझ महँगो हुने व्यवसायीहरूको आकलन छ। यही कारण ग्राहकले अत्यावश्यक बाहेक नयाँ सुन किन्न छाडेका छन्। विवाह, व्रतबन्ध वा पारिवारिक अत्यावश्यक काममा मात्रै केही कारोबार भइरहे पनि सामान्य समयमा हुने नियमित खरिद करिब ठप्प जस्तै बनेको व्यवसायीहरूको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

चार वर्षमा सुन आयात ३,५९७ किलोले घट्यो

सुन बजार सुस्ताएको स्पष्ट संकेत आयात तथ्यांकमै देखिन्छ। नेपाल बैंकर्स संघको सिफारिसमा ‘क’ वर्गका बैंकहरूले आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलोग्राम सुन आयात गरेका थिए। तर, २०८२ साल साउन १ गतेदेखि २०८३ साल असार २२ गतेसम्म यस्तो आयात १ हजार ४०३ किलोग्राममा सीमित भएको छ।

यो करिब चार वर्षअघिको तुलनामा ३ हजार ५९७ किलोग्रामले कम हो। प्रतिशतमा हेर्दा बैंकिङ प्रणालीमार्फत हुने सुन आयात करिब ७२ प्रतिशतले घटेको देखिन्छ।

नेपाल बैंकर्स संघका अनुसार सुनको मूल्यमा आएको तीव्र वृद्धिका कारण बजार माग घटेको छ। माग घटेपछि बैंकहरूले पनि व्यवसायीहरूको आवश्यकताअनुसार मात्र सुन ल्याइरहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा ‘क’ वर्गका बैंकहरूले १ हजार ३८३ किलोग्राम सुन आयात गरेका थिए। चालु अवधिमा आयात १ हजार ४०३ किलोग्राम पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २० किलोग्राम मात्र बढी हो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा २ हजार ६५० किलोग्राम र २०७९/८० मा २ हजार ९०० किलोग्राम सुन आयात भएको थियो।

तथ्यांकले देखाउँछ-सुन आयातमा वर्षैपिच्छे उतारचढाव देखिए पनि पछिल्लो चार वर्षको समग्र प्रवृत्ति भने स्पष्ट रूपमा ओरालोतर्फ छ।

महँगो सुन, कमजोर क्रयशक्ति

नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरणसम्बन्धी संशोधित कार्यविधि, २०६८ अनुसार नेपालमा ‘क’ वर्गका बैंकहरूलाई मात्रै सुन आयातको अनुमति छ। उनीहरूले नेपाल बैंकर्स संघको सिफारिसमा मात्र सुन आयात गर्न पाउँछन्। कार्यविधिअनुसार दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने व्यवस्था छ।

तर, बजारमा माग नै कमजोर भएपछि बैंकहरूले पनि आयात घटाइरहेका छन्। व्यवसायीहरूका अनुसार ग्राहकले अहिले नयाँ सुन किन्नुभन्दा पुरानो सुन साटेर वा मर्मत गरेर काम चलाउन थालेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली भन्छन्, “सुनमा लगाइने २० प्रतिशत भन्सार महसुलले सुन थप ८-१० हजार रुपैयाँ महँगो बनाउने देखिन्छ। सुन महँगो बन्दै गएको छ, तर नागरिकको क्रयशक्ति बढेको छैन। हातमा पैसा नभएपछि ग्राहकले अत्यावश्यक बाहेक सुन किन्न छाडेका छन्।”

उनका अनुसार अहिले सुन पसलमा खरिद गर्नेभन्दा बिक्री गर्न आउने ग्राहक बढी छन्। विशेषगरी असार मसान्तमा व्यवसाय, बैंक ब्याज वा घरायसी खर्च मिलाउन धेरैले सुन बेच्ने गरेको व्यवसायीहरूको अनुभव छ।

“अहिले कारोबार साह्रै कम छ। सुन पसलबाट खरिद गर्ने ग्राहकको संख्या तुलनात्मक रूपमा धेरै घटेको छ। त्यसैले हामीले बैंकलाई सुन कम ल्याउन भनेका हौं। बढी सुन ल्याउँदा होल्डिङ चार्ज लगायत खर्च थपिन्छ,” रसाइलीले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पसलमा सुन बेच्नेको भीड, बैंकमा धितो कर्जाको उछाल

सुन बजारको अर्को रोचक पक्ष भनेको सुनचाँदी धितो कर्जामा देखिएको तीव्र वृद्धि हो। बैंक तथा वित्तीय संस्थामा सुन र चाँदी धितो राखेर लिने कर्जाको माग बढ्दै गएको छ।

सन् २०२४ मा सुनचाँदी धितो राखेर ५८ अर्ब ४८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। सन् २०२५ मा आइपुग्दा यस्तो कर्जा ८३ अर्ब २८ करोड ७० लाख रुपैयाँ पुगेको छ। यो ४२.४० प्रतिशतको वृद्धि हो।

सन् २०२३ मा यस्तो कर्जा ५५ अर्ब ५३ करोड ३० लाख रुपैयाँ थियो। त्यसको तुलनामा सन् २०२४ मा ५.३२ प्रतिशत वृद्धि भएको थियो। तर, २०२५ मा वृद्धिदर तीव्र देखिएको छ।

नेपाली मितिअनुसार २०८२ चैतमा सुन–चाँदी धितो कर्जा १ खर्ब १४ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको थियो। २०८३ वैशाखसम्म आइपुग्दा यो बढेर १ खर्ब १७ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुगेको छ। एक महिनामै यस्तो कर्जा करिब ३ प्रतिशतले बढेको देखिन्छ।

यसले संकेत गर्छ-सुन बजारमा नयाँ खरिद घटे पनि घरमा भएको सुन अहिले धेरै परिवार र व्यवसायीका लागि तरलता व्यवस्थापन गर्ने साधन बनिरहेको छ।

सुन अब गहना मात्रै होइन, संकटको वित्तीय आधार

नेपालमा सुन परम्परागत रूपमा गहना, विवाह, संस्कार र सम्पत्तिको प्रतीक मानिन्छ। तर, पछिल्लो समय बढ्दो मूल्य, कमजोर आय, व्यवसायिक मन्दी र बैंकिङ प्रणालीमा कर्जा दबाबका कारण सुनको प्रयोग बदलिँदै गएको देखिन्छ।

पहिले सुन किनेर राख्ने प्रवृत्ति बलियो थियो। अहिले भने धेरैले पुरानो सुन बेचेर वा धितो राखेर खर्च धान्ने अवस्था बनेको छ। व्यवसायीहरूका अनुसार बजारमा नयाँ गहना बनाउनेभन्दा पुरानो गहना पगालेर नयाँ डिजाइन बनाउने ग्राहक बढेका छन्।

यसले सुन व्यवसायमा दोहोरो दबाब सिर्जना गरेको छ। एकातिर नयाँ बिक्री घटेको छ, अर्कोतिर ग्राहकबाट आउने पुरानो सुनको मात्रा बढेको छ। यस्तो अवस्थामा बैंकमार्फत आयात हुने सुनको माग पनि स्वाभाविक रूपमा घटेको छ।

एक व्यवसायीले एक पटकमा बढीमा एक किलो मात्रै किन्न पाउने

सरकारले आयातित सुनको बिक्री वितरणलाई व्यवस्थित गर्न क्षेत्रगत कोटा, व्यवसायीको योग्यता र बिक्री प्रक्रियासम्बन्धी व्यवस्था गरेको छ। त्यसअनुसार नेपाल बैंकर्स संघले आयातित सुनमध्ये ६० प्रतिशत बागमती क्षेत्रमा र ४० प्रतिशत बागमतीबाहेकका अन्य क्षेत्रमा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्छ।

बागमती बाहिर धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुरबाट अनिवार्य रूपमा सुन बिक्री वितरण गर्नुपर्ने व्यवस्था छ। आवश्यकता अनुसार अन्य व्यापारिक केन्द्र तथा सहरबाट पनि सुन बिक्री गर्न सकिन्छ।

व्यवस्थाअनुसार प्रत्येक व्यवसायीले एक पटकमा अधिकतम एक किलोग्राम सुन मात्र खरिद गर्न पाउँछन्। कुनै क्षेत्रमा तोकिएको सुन सात दिनभित्र बिक्री नभएमा उक्त परिमाण अन्य क्षेत्र वा हस्तकला व्यवसायीलाई बिक्री गर्न सकिने व्यवस्था छ।

बैंकलाई १ प्रतिशतभन्दा बढी मार्कअप लिन रोक

सुन आयात र बिक्रीमा नेपाल राष्ट्र बैंकले कडा व्यवस्था गरेको छ। बैंकहरूले सुन बिक्री गर्दा आयातदेखि सम्बन्धित क्षेत्रमा पुर्‍याउँदासम्म लाग्ने प्रत्यक्ष लागतमा अधिकतम १ प्रतिशतभन्दा बढी मार्कअप लिन पाउँदैनन्।

तोकिएको परिमाणभित्र सुन आयात गर्न सिफारिस प्राप्त बैंकहरूले आपसी सहमतिमा अर्को बैंकमार्फत पनि सुन आयात गरी बिक्री वितरण गर्न सक्छन्। तर, एउटा बैंकमार्फत आयात भएको सुन अर्को बैंकले बिक्री गर्दा पनि १ प्रतिशतभन्दा बढी मार्कअप राख्न पाइँदैन।

सुन आयातका लागि प्रतितपत्र, स्ट्यान्डबाइ एलसी, बैंक ग्यारेन्टी, ड्राफ्ट वा टेलिग्राफिक ट्रान्सफर प्रयोग गर्न सकिने व्यवस्था छ। दैनिक निर्धारित परिमाण ननाघ्ने गरी आवश्यक सुन एकमुष्ट रूपमा आयात गर्न सकिन्छ। तर, आगामी दिनका लागि अग्रिम रूपमा सुन आयात गर्ने व्यवस्था छैन।

नेपाल बैंकर्स संघले प्रत्येक सिफारिसमा अघिल्लो सिफारिसको परिमाण, नयाँ सिफारिसपछि कायम हुने कुल परिमाण र उक्त सिफारिस कुन मितिसम्मका लागि हो भन्ने विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्छ। यसको जानकारी नेपाल राष्ट्र बैंकलाई पनि उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

सुन बजारको चमक घट्यो, धितो मूल्य बढ्यो

नेपालको सुन बजार अहिले असामान्य मोडमा छ। मूल्य बढेको छ, तर बिक्री घटेको छ। आयात घटेको छ, तर धितो कर्जा बढेको छ। पसलमा नयाँ ग्राहक कम छन्, तर सुन बेच्ने र धितो राख्नेहरू बढेका छन्।

यो अवस्थाले सुनलाई केवल विलासिता वा संस्कारसँग जोडिएको वस्तुका रूपमा मात्र नभई आर्थिक दबाबको समयमा प्रयोग हुने वित्तीय सम्पत्तिका रूपमा पनि उभ्याएको छ।

महँगो कर, बढ्दो अन्तर्राष्ट्रिय मूल्य, कमजोर क्रयशक्ति र बजार मन्दीले सुन व्यवसायीलाई दबाबमा पारेको छ। अर्कोतिर, नागरिकको हातमा रहेको सुन बैंकिङ प्रणालीमा धितो बनेर प्रवेश गरिरहेको छ।

अहिलेको सुन बजारको मुख्य कथा यही हो-गहना पसल सुनसान छन्, तर सुनको धितोमा पैसा चलाउनेहरू बढिरहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.