सोमबार, श्रावण १८,२०८३ 05:45:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:45:48
Bizshala
Global IME Bank Limited

मौद्रिक नीति २०८३/८४ : सिबिफिनको स्वागत, तर पूँजी दबाब र जोखिम व्यवस्थापनमा राष्ट्र बैंकसँग थप अपेक्षा

मौद्रिक नीति २०८३/८४ : सिबिफिनको स्वागत, तर पूँजी दबाब र जोखिम व्यवस्थापनमा राष्ट्र बैंकसँग थप अपेक्षा
New Office

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भनेको छ । मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण र समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा मौद्रिक नीतिले सन्तुलित कार्यदिशा लिएको सिबिफिनको टिप्पणी छ ।

सिबिफिनले मौद्रिक नीतिले विगतको परम्परागत ढाँचामा केही परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको जनाएको छ । विशेषगरी नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा यथावत् राख्ने निर्णयले नीतिगत स्थिरताको संकेत दिएको सिबिफिनको भनाइ छ ।

रुग्ण उद्योग र दबाबमा रहेका कर्जाको पुनरुत्थानमा सकारात्मक संकेत

सिबिफिनका अनुसार मौद्रिक नीतिले रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन र दबाबमा रहेका कर्जाको पुनरुत्थानका विषयलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसले व्यवसायिक वातावरणलाई थप पूर्वानुमानयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा, पूँजी पर्याप्तताको दबाब र निजी क्षेत्रतर्फ कर्जा प्रवाह सुस्त हुने समस्या देखिँदै आएको छ । यस्तो अवस्थामा मौद्रिक नीतिले वित्तीय स्थायित्वलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रलाई पनि चलायमान बनाउने संकेत दिएको सिबिफिनको बुझाइ छ ।

शाखा सञ्चालनमा लचकता र डिजिटलाइजेसनलाई प्रोत्साहन

सिबिफिनले बैंकका शाखा खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाउने व्यवस्था पनि सकारात्मक रहेको जनाएको छ । डिजिटल बैंकिङ र वित्तीय सेवाको डिजिटलाइजेसनलाई प्रोत्साहन गर्ने नीतिले बैंकहरूको सञ्चालन खर्च घटाउन सहयोग गर्ने सिबिफिनको धारणा छ ।

बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको, ग्राहक व्यवहार डिजिटल माध्यमतर्फ सर्दै गएको र भौतिक शाखाको लागत बढिरहेको अवस्थामा यस्तो नीति समयसापेक्ष भएको सिबिफिनले जनाएको छ ।

विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो सकारात्मक

मौद्रिक नीतिले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने व्यवस्था गरेकोमा पनि सिबिफिनले स्वागत गरेको छ । विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन यस्तो व्यवस्था उपयोगी हुने उसको भनाइ छ ।

त्यस्तै विदेशी मुद्रा खरिदका क्रममा स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने व्यवस्था पनि दूरदर्शी कदम भएको सिबिफिनले उल्लेख गरेको छ । यसले तरलता व्यवस्थापन र मौद्रिक सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुख्य सुझाव भने अझै सम्बोधन भएनन्

मौद्रिक नीतिको स्वागत गरे पनि सिबिफिनले आफूले दिएका केही महत्वपूर्ण सुझावहरू तत्काल सम्बोधन नभएको जनाएको छ । जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पूँजी कोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण र अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारका विषयमा आफूले दिएको सुझाव मौद्रिक नीतिमा समेटिन नसकेको सिबिफिनको भनाइ छ ।

तर, यी विषय आगामी एकीकृत निर्देशनमार्फत सम्बोधन हुने अपेक्षा सिबिफिनले गरेको छ । नेपालको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमाथि बढ्दो पूँजीगत दबाब, निष्क्रिय कर्जाको व्यवस्थापन र निजी क्षेत्रतर्फ कर्जा प्रवाह प्रभावकारी बनाउन यी सुझाव महत्वपूर्ण रहेको सिबिफिनले स्पष्ट पारेको छ।

सरकारको आर्थिक विस्तार लक्ष्यमा टेवा पुग्ने अपेक्षा

सिबिफिनका अनुसार बैंकिङ क्षेत्र सबल र सक्षम नभएसम्म निजी क्षेत्रको पुनरुत्थान र अर्थतन्त्रको विस्तार सहज हुँदैन । त्यसैले राष्ट्र बैंकले मौद्रिक नीतिका सकारात्मक व्यवस्थाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सिबिफिनले जोड दिएको छ ।

सिबिफिनले बैंकिङ प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र सक्षम बनाउन, वित्तीय स्थायित्व कायम राख्न र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद तथा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ।

सिबिफिनको सन्देश : नीति स्वागतयोग्य, अब कार्यान्वयन र निर्देशनमा नजर

समग्रमा सिबिफिनले मौद्रिक नीति २०८३/८४ लाई स्वागतयोग्य भनेको छ । तर, बैंकिङ क्षेत्रले अहिले भोगिरहेको पूँजी दबाब, निष्क्रिय कर्जा व्यवस्थापन र जोखिममा आधारित नियमनका विषयलाई आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा सम्बोधन गर्नुपर्ने उसको मुख्य अपेक्षा छ ।

मौद्रिक नीतिले स्थायित्वको सन्देश दिएको भए पनि अब यसको वास्तविक प्रभाव कार्यान्वयन, नियामकीय स्पष्टता र बैंकिङ प्रणालीमा आउने व्यावहारिक सहजताबाट देखिनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.