काठमाण्डौ । मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का चर्चित नेपाली खेलाडी रविन्द्र ढाँट भाटभटेनी सुपरमार्केटको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
भाटभटेनी सुपरमार्केट तथा यसअन्तर्गत सञ्चालित पेपे पिज्जाले ढाँटलाई तीन वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय खेल करियरमा सहयोग पुर्याउने उद्देश्यले उनीसँग सहकार्य गरिएको जनाएको छ।
सम्झौताअनुसार भाटभटेनीले ढाँटलाई आगामी तीन वर्षसम्म नगद तथा जिन्सी सहयोग उपलब्ध गराउनेछ। यद्यपि, प्रायोजन सम्झौताको आर्थिक विवरण भने दुवै पक्षले सार्वजनिक गरेका छैनन्।
सम्झौतापछि ढाँटले भाटभटेनी सुपरमार्केटसँगै पेपे पिज्जा र पेपे आइसक्रिमका ब्रान्डहरूको प्रचार–प्रसार तथा प्रवर्द्धनात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन्।
भाटभटेनीले अनुशासन, दृढता र उत्कृष्टताप्रतिको निरन्तर प्रतिबद्धता दुवै पक्षका साझा मूल्य र मान्यता भएकाले ढाँटलाई आफ्नो ब्रान्डसँग आबद्ध गरिएको जनाएको छ। साथै नेपाली प्रतिभालाई प्रोत्साहन गर्नुका साथै देशभरका ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले यो सहकार्य गरिएको कम्पनीको भनाइ छ।
हाल रोड टु यूएफसी सिजन–५ को सेमिफाइनल फाइटको तयारीमा रहेका ढाँटलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्न यस सहकार्यले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

