काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज भएको कारोबार तीन महिना पछिकै उच्च हो । यसअघि गत माघ १७ गते ५ अर्बमाथिको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्, ‘बजार विस्तारै सेक्टर रोटेसन हुँदै चलेको छ । फाइनान्सपछि विकास बैंक पनि चल्न थालेका छन् । आज बजार २ हजार विन्दुमाथि बन्द हुनु सकारात्मक विषय हो । एक दुई दिन कारोबार २ हजार विन्दुमाथि पुगेमा हालको लागि १९५० नै न्यून विन्दु रहेको देखिन्छ ।’
अर्का बजार जानकार निमानन्द कंडेल पनि २–३ वटा कारणले बजार माथि गएको बताउछन् । ‘लगानीकर्ताको आन्दोलनप्रति अर्थमन्त्रीको चासो बढ्नु,मौद्रिक नीतिको समीक्षा केहि सहज आउने आँकलन गर्नु र वैशाखदेखि भदौसम्म लगानीको सिजन भएको र बजार न्यून अवस्थामा रहेकाले बजारमा सुधार आएको हो ।’कंडेलले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये फाइनान्स समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो ।
आज विकास बैंक समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । आज विकास बैंक समूह ४.९० प्रतिशतले बढ्यो । बैंकिङ समूह १.१० प्रतिशतले बढेको आज होटल २.५३,हाईड्रो १.६२,लगानी १.१३,जीवन बीमा ०.९६,उत्पादन तथा प्रशोधन ०.३६,लघुवित्त १.४१,म्युचुअल फण्ड ०.०५,निर्जीवन बीमा २.३९,अन्य ०.३० र व्यापार समूह ०.७५ प्रतिशतले बढ््यो ।
आज वित्त समूह भने १.१८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक अर्थात १८ करोड २४ लाख बढीको सेयर कारोबार भयो । पोखरा फाइनान्सको १७ करोड १ लाख,गोर्खाज फाइनान्सको १६ करोड २५ लाख,कामना सेवा विकास बैंक १२ करोड ९५ लाख र नेपाल फाइनान्सको १२ करोड ६० लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी कम्पनीको सेयरमूल्य क्रमशः१० र ९.९९ प्रतिशतले बढ्यो ।
त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२९ प्रतिशत,बोटलर्स नेपाल(तराई)को ७.६२ र शाइन रेसुङ्ुगा डेभलपमेन्टको बैंकको सेयरमूल्य ७.२० प्रतिशतले बढ्यो ।
आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले घटेको आज गुराँस लघुवित्तको ६.६० र बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ५.७३ प्रतिशतले घट्यो ।