-रविन ठकुरी
काठमाण्डौ । सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन सवारीसाधन विक्रेताबीच आकर्षक छुट र सुविधा दिने प्रतिस्पर्धा चर्किएको छ। ग्राहक तान्न कम्पनीहरूले नगद छुटदेखि निःशुल्क बीमा, रोड ट्याक्स, होम चार्जर, सर्भिसिङ र आकर्षक एक्सचेन्ज मूल्यसम्मका योजना अघि सारेका छन्।
हाल बजारमा नयाँ गाडी खरिद गर्दा अधिकतम ४ लाख रुपैयाँसम्म नगद छुट पाइन्छ। बैंक कर्जा सहजीकरण, पुरानो गाडीको उच्च मूल्यांकन र लामो अवधिको वारेन्टीले पनि ग्राहकलाई गाडी खरिदतर्फ आकर्षित गरिरहेको व्यवसायी बताउँछन्।
आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ नजिकिँदै गर्दा कम्पनीहरू थप आक्रामक अफर ल्याउने तयारीमा छन्। एक्स्पोमा विद्युतीय तथा पेट्रोलियम सवारीसाधनमा अहिलेभन्दा बढी नगद छुट र सुविधा घोषणा हुने अपेक्षा गरिएको छ।
व्यवसायीहरूका अनुसार अहिले सञ्चालन भइरहेका अफरले सोरुममा ग्राहकको चहलपहल बढाएको छ। नाइमा एक्स्पोमा थप योजना सार्वजनिक भएपछि कारोबारले अझ गति लिने उनीहरूको विश्वास छ।
टाटा इभीमा ३ लाखसम्म छुट, होम चार्जर निःशुल्क

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीसाधनमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म नगद छुट दिइरहेको छ।
सिप्रदीले नेपालमा टियागो इभी, नेक्सन के थ्री इभी र कर्भ इभी बिक्री गर्दै आएको छ। कम्पनीले नगदमा गाडी खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष छुट दिनुका साथै बैंक कर्जा सहजीकरण र एक्सचेन्जमा पुरानो गाडीको आकर्षक मूल्यांकन गर्ने योजना सञ्चालन गरेको छ।
“नगदमा गाडी खरिद गर्ने ग्राहकलाई क्यास डिस्काउन्ट दिइरहेका छौँ,” काठमाण्डौको थापाथलीस्थित टाटा सोरुमका इभी सेल्स डिपुटी म्यानेजर निरज डाँगीले भने, “बैंक कर्जाबाट खरिद गर्न चाहनेलाई आवश्यक सहजीकरण गर्छौं। पुरानो गाडी साटेर नयाँ लैजाने ग्राहकलाई पनि बजारको तुलनामा राम्रो रिसेल भ्यालू दिने प्रयास गरिरहेका छौँ।”
२९ लाख ९९ हजार रुपैयाँ बजार मूल्य रहेको टियागो इभीमा १ लाख ५० हजार रुपैयाँ नगद छुट दिइएको छ। ५० लाख ९९ हजार रुपैयाँ मूल्यको नेक्सन के थ्री इभीमा पनि १ लाख ५० हजार रुपैयाँ छुट उपलब्ध छ।
त्यस्तै, ५८ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको कर्भ इभीमा सबैभन्दा बढी ३ लाख रुपैयाँ नगद छुट दिइएको छ।
नगद छुटबाहेक सिप्रदीले एक आर्थिक वर्षको रोड ट्याक्स र नामसारी खर्चसमेत बेहोरिदिने योजना ल्याएको छ। ग्राहकको घरमा आवश्यक होम चार्जर निःशुल्क जडान गरिदिने सुविधा पनि उपलब्ध छ।
टाटाका इभीको ब्याट्रीमा आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर गाडी खरिद गर्ने ग्राहकलाई पनि कम्पनीले सहजीकरण गर्ने जनाएको छ।
डाँगीका अनुसार अहिलेका योजनाले ग्राहकको ध्यान तान्नुका साथै बिक्री बढाउनसमेत सहयोग गरेको छ। नाइमा एक्स्पोमा थप आकर्षक अफर आउने उनले संकेत गरे।
हुण्डाईमा ४ लाखसम्म नगद छुट

नेपालका लागि हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ गाडी खरिदमा अधिकतम ४ लाख रुपैयाँसम्म नगद छुट दिने योजना सञ्चालन गरिरहेको छ।
कम्पनीले नयाँ हुण्डाई गाडीमा चार वर्षको वारेन्टी, एक वर्षको फुल कम्प्रिहेन्सिभ इन्स्योरेन्स तथा एक आर्थिक वर्षको रोड ट्याक्स छुटसमेत दिएको छ। हुण्डाईका विद्युतीय गाडीको ब्याट्रीमा आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ।
“नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरेर विभिन्न अफर दिएका छौँ,” थापाथलीस्थित हुण्डाई सोरुमका इन्चार्ज सुरेश श्रेष्ठले भने, “यी अफरले ग्राहकको ध्यान तानिरहेका छन्। हालको योजना जुलाई ३१ सम्म सञ्चालन हुनेछ।”
लक्ष्मी इन्टरकन्टिनेन्टलले पेट्रोल र विद्युतीय दुवै प्रकारका हुण्डाई गाडी बिक्री गर्दै आएको छ। पेट्रोलतर्फ ग्राण्ड आई–१० निओसको मूल्य ३३ लाख ५६ हजारदेखि ४१ लाख २६ हजार रुपैयाँसम्म छ।
एक्सटरको मूल्य ३६ लाख ९६ हजारदेखि ४६ लाख ९६ हजार, भेन्यूको ४१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार र क्रेटाको ५५ लाख ५६ हजारदेखि ८० लाख ५६ हजार रुपैयाँसम्म तोकिएको छ।
त्यस्तै, टक्सनको मूल्य १ करोड ७ लाख ९६ हजारदेखि १ करोड ६० लाख ९६ हजार रुपैयाँसम्म छ। सान्टा फेको मूल्य १ करोड ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ।
विद्युतीय सवारीसाधनतर्फ कोना इभीको मूल्य ५९ लाख ९६ हजारदेखि ६४ लाख ९६ हजार रुपैयाँसम्म छ। क्रेटा इभीको मूल्य ६० लाख ९६ हजार र आयोनिक फाइभको १ करोड ३ लाख ९६ हजार रुपैयाँ रहेको छ।
कम्पनीले मोडलअनुसार यी सवारीसाधनमा नगद छुट तथा अन्य सुविधा दिइरहेको जनाएको छ।
कियामा बीमा र रोड ट्याक्स छुट, पाँच वर्षको वारेन्टी

नेपालका लागि किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नगद छुटभन्दा बिक्रीपछिका सुविधालाई प्राथमिकता दिँदै विशेष अफर सञ्चालन गरेको छ।
नयाँ किया गाडी खरिद गर्ने ग्राहकले एक वर्षको फुल इन्स्योरेन्स र एक आर्थिक वर्षको रोड ट्याक्स छुट पाउनेछन्। कम्पनीले तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा पाँच वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टीसमेत उपलब्ध गराएको छ।
“हामीले ल्याएका अफर ग्राहक आकर्षित गर्ने प्रभावकारी माध्यम बनेका छन्,” थापाथलीस्थित किया सोरुमका इन्चार्ज सागर श्रेष्ठले भने, “एक्सचेन्जमा आउने ग्राहकका पुराना गाडीलाई बजारको प्रचलित रिसेल भ्यालूभन्दा राम्रो मूल्यांकन गर्ने प्रयास गरिरहेका छौँ।”
कियाको सोनेटको बजार मूल्य ४२ लाख ९० हजारदेखि ६३ लाख ९० हजार रुपैयाँसम्म छ। सेल्टसको मूल्य ५९ लाख ४० हजारदेखि ८१ लाख ९० हजार र के थ्री सेल्टसको मूल्य ६८ लाख ९० हजारदेखि ९५ लाख ९० हजार रुपैयाँसम्म छ।
कियाको प्रिमियम विद्युतीय गाडी इभी नाइनको बजार मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ रहेको छ।
नाइमामाथि अटो बजारको आशा
हालका छुट योजनाले बजारमा चासो बढाए पनि अटो व्यवसायीको मुख्य नजर नाइमा नेपाल मोबिलिटी एक्स्पोमा छ। व्यवसायीहरू एक्स्पोलाई नयाँ मोडल सार्वजनिक गर्ने मात्र नभई ग्राहकको खरिद निर्णय तत्काल गराउने अवसरका रूपमा उपयोग गर्ने तयारीमा छन्।
एकै स्थानमा धेरै ब्रान्ड र मोडल तुलना गर्न पाइने तथा एक्स्पो अवधिमा विशेष छुट उपलब्ध हुने भएकाले ग्राहकको उपस्थिति उल्लेख्य हुने अपेक्षा छ। नगद छुटसँगै बैंक कर्जा, बीमा, कर, चार्जर र एक्सचेन्ज बोनससमेत जोडिँदा यो वर्षको नाइमा एक्स्पो अटो बजारका लागि ठूलो बिक्री पर्व बन्ने देखिएको छ।

