काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेन युद्धमा सहयोगका लागि थप ३० हजार उत्तर कोरियाली सैनिक परिचालन गर्ने तयारी गरिरहेको दाबी गरेका छन्।
शनिबार सार्वजनिक भिडियो सन्देशमार्फत जेलेन्स्कीले रुस र उत्तर कोरियाबीचको सैन्य सहकार्य थप विस्तार भइरहेको बताएका हुन्। उनका अनुसार उत्तर कोरियाली सैनिकलाई स्वागत गर्न रुसको भोरोनेज क्षेत्रमा गत जुनदेखि नै तयारी भइरहेको छ।
यसअघि पनि रुसलाई सहयोग गर्न उत्तर कोरियाले करिब १४ हजार सैनिक रुसको कुर्स्क क्षेत्रमा पठाएको युक्रेनको दाबी छ। सन् २०२४ मा भएको उक्त परिचालन रुस र उत्तर कोरियाबीचको आपसी रक्षा सम्झौताअन्तर्गत भएको बताइएको थियो।
जेलेन्स्कीले उत्तर कोरियाले रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण प्रणालीका लागि नयाँ लन्चर उपलब्ध गराउने तयारी गरिरहेको आरोपसमेत लगाए।
‘यो खतरा केवल युक्रेनका लागि मात्र होइन,’ जेलेन्स्कीले भने, ‘रुसले उत्तर कोरियालाई युद्ध सञ्चालन गर्ने तरिका, हतियार सुधार र वास्तविक युद्ध अनुभव हासिल गर्न सहयोग गरिरहेको छ।’
उनले उत्तर कोरियाको सैन्य क्षमता विस्तारले एसियाका अन्य मुलुकहरूमा समेत सुरक्षा चुनौती सिर्जना गर्न सक्ने चेतावनी दिए। उत्तर कोरियाली क्षेप्यास्त्रको पहुँचमा रहेका सबै देशका लागि यो चिन्ताको विषय भएको उनको भनाइ छ।
युक्रेनी राष्ट्रपतिले यस्तो सैन्य सहकार्यबाट उत्पन्न हुने चुनौतीको सामना गर्न युक्रेनले आवश्यक कदम चाल्ने बताएका छन्।

