मंगलवार, श्रावण १९,२०८३ 06:04:41
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:04:41
Bizshala
Global IME Bank Limited

पूँजीबजारको दबाबले म्युचुअल फण्ड थलिए, नाफा घट्यो र लगानी खुम्चियो

५७ मध्ये २८ फण्ड घाटामा

पूँजीबजारको दबाबले म्युचुअल फण्ड थलिए, नाफा घट्यो र लगानी खुम्चियो
New Office

काठमाण्डौ । नेपालको पूँजीबजारमा अपेक्षित सुधार नआउँदा सामूहिक लगानी कोष (म्युचुअल फण्डहरु)को नाफा प्रभावित देखिएको छ ।  

कमजोर बजार प्रदर्शन, सूचीकृत कम्पनीहरुको मूल्यमा आँएको दबाब तथा नेट एसेस भ्यालु (न्याभ)मा आएको कमीका कारण सबै फण्डको प्रतिफल समेत प्रभावित भएको हो ।  

फण्डहरुले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार सबै फण्डको नाफा प्रभावित देखिएको छ । न्यून ब्याजदरका कारण म्युचुअल फण्डहरुले बैंकको मुद्दती निक्षेपबाट लगानी घटाएर पूँजीबजारमा लगानी बढाएका छन् । तर बजार स्थिर रहँदा वा घट्दा अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।  

म्युचुअल पफण्डहरुको सेयरबजारमा अर्बौं लगानी रहेको हुन्छ । बजारमा उतारचढाव देखिने बित्तीकै फण्डहरुको नाफा, न्याभ र लगानीको अवस्था नै घटबढ हुने अवस्था देखिन्छ । सेयरबजारमा सुधार नदेखिएपछि म्युचुअल फण्डहरुको नाफामा पनि गिरावट देखिएको हो ।  

जेठ मसान्तको अन्तिम कारोबार दिन २७२३ विन्दुमा रहेको नेप्से परिसूचक असार मसान्तको अन्तिम कारोबार दिनसम्म २५७७ विन्दुमा कायम भएको छ । यस हिसाबमा सेयरबजार ५.६७ प्रतिशतले घट्न पुगेको छ, जसकारण सबै फण्डहरुको नाफामा ठूलो गिरावट देखिएको हो ।  

मर्चेण्ट बैंकहरुका अनुसार बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर हुनु, नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्नु तथा समग्र बजारमा उतारचढाव देखिनुले म्युचुअल फण्डहरुको नाफामा दबाब देखिएको हो ।  

विशेषगरी असार महिनामा क्लोजिङको प्रेसरले बजारलाई थप दबाब पुग्ने हुँदा अधिकांश सूचीकृत कम्पनीहरुको सेयरभाउ घट्ने हुँदा यसले म्युचुअल फण्डहरुको नाफामा प्रत्यक्ष प्रभाव पारेको मर्चेण्ट बैंकरहरुको भनाई छ ।  

वित्तीय विवरणअनुसार ५७ म्युचुअल फण्डमध्ये २९ वटा फण्ड मात्रै नाफामा देखिएका छन् भने बाँकी २८ फण्ड घाटामा देखिएका छन् । तर नाफामा रहेका फण्डहरुको पनि अघिल्लो महिना अर्थात् जेठको तुलनामा सबको नाफामा ह्वात्तै घटेको छ ।  

सबैभन्दा बढी नाफा कमाउनेमा कुमारी धनवृद्धि योजना रहेको छ । यो फण्डले १५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । तर यो नाफा अघिल्लो महिनाको तुलनामा २९.८० प्रतिशत कम हो ।  

सर्वाधिक घाटा ब्यहोर्ने फण्डमा भने एचएलआई लार्ज क्याप फण्ड रहेको छ । यो फण्डले असारमा ६३ करोड २७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

सबैको न्याभ घट्यो  

असार महिनामा सबै म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेको छ । न्याभ भनेको म्युचुअल फण्डको प्रतिइकाईको वास्तविक मूल्य हो ।  

अर्थात् फण्डसँग भएका सम्पत्ति (सेयर, ऋणपत्र, बैंक मौज्दात)को कुल मूल्यबाट दायित्व घटाएर बाँकी रकमलाई कुल इकाई संख्याले भाग गरेर न्याभ प्राप्त हुन्छ ।  

मुख्यगरी फण्डले लगानी गरेको सेयरहरुको मूल्य घट्दा न्याभ पनि घट्ने गर्छ । असार महिनामा म्युचुअल फण्डहरुले लगानी गरेका सूचीकृत कम्पनीको सेयरभाउ घट्दा न्याभ पनि स्वतः घट्न पुगेको हो ।  

साथै बण्ड वा अन्य लगानीको मूल्य घट्नु, निक्षेपमा गरेको लगानी वा ब्याजबाट आम्दानी कम हुँदा फण्डको न्याभ थप घट्न मद्दत पुगेको देखिन्छ । यसरी न्याभ घट्दा लगानीकर्ताको प्रतिइकाई सम्पत्तिको मूल्य पनि घटेको छ ।  

सेयरबजारमा खुम्चियो लगानी  

असार महिनामा अधिकांश म्युचुअल फण्डहरूले सेयर बजारमा गरेको लगानी घटाएका छन् । सेयर बजारमा निरन्तर उतारचढाव, वित्तीय वर्षको अन्त्यका कारण पोर्टफोलियो पुनःसन्तुलन तथा नगद व्यवस्थापनको आवश्यकता बढेपछि फण्डहरूले सूचीकृत कम्पनीहरूको सेयरमा रहेको हिस्सा केही घटाएका हुन् ।

लगानी घटेसँगै धेरै म्युचुअल फण्डको न्याभ र मासिक नाफामा पनि दबाब परेको देखिएको हो । बजार कमजोर हुँदा सेयरको मूल्य घट्ने भएकाले फण्डहरूले जोखिम नियन्त्रण गर्न केही लगानी नगदी तथा तुलनात्मक रूपमा सुरक्षित उपकरणतर्फ सारेका छन् । ।

बजार विश्लेषकहरूका अनुसार, म्युचुअल फण्डहरूको इक्विटी लगानीमा आएको कमीले छोटो अवधिमा सेयर बजारको कारोबार र मागमा केही प्रभाव पार्न सक्छ । यद्यपि, बजारमा सुधारका संकेत देखिएमा फण्डहरूले पुनः सेयरबजारमा लगानी बढाउने सम्भावना भने रहने उनीहरुको भनाई छ ।  

असारमा म्युचुअल फण्डहरुको सेयरबजारमा कुल ६६ अर्ब ७० करोड रुपैयाँ बराबरको लगानी रहेको छ । यो लगानी जेठ महिनाको तुलनामा २.७२ प्रतिशत कम हो । जेठमा फण्डहरुले सेयरबजारमा ६८ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।  

५७ मध्ये १४ फण्डको लगानी मात्रै वृद्धि देखिएको छ भने ४३ फण्डको लगानी भ्यालु घटेको देखिन्छ । म्युचुअल फण्डहरुले पूँजीबजारमा यसरी लगानी घटायो भने त्यसको समग्र असर बजारमा देखिन्छ ।  

यस्तो अवस्थाले सेयर खरिदको माग घट्ने, बजारमा दबाब सिर्जना हुने, लगानीकर्ताको मनोबल कमजोर हुने र प्रतिफलमा समेत असर पर्ने देखिन्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.