काठमाण्डौ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ट्रम्प नेशनल गल्फ क्लब परिसरमा हतियारसहित प्रवेश गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति ३८ वर्षीय जिनिन जोन टाएले रहेको प्रहरीले जनाएको छ। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्धारित भ्रमणअघि क्लबको सुरक्षा गतिविधि निगरानी गरिरहेको आशंकामा अनुसन्धानको दायरामा आएका हुन्।
प्रहरीका अनुसार सुरक्षाकर्मीहरूले टाएलेलाई क्लब परिसरमा फोटो तथा भिडियो खिचिरहेको अवस्थामा नियन्त्रणमा लिएका थिए। उनको साथबाट १६ राउन्ड क्षमताको म्यागजिन र प्रतिबन्धित प्रकारका गोली बरामद भएको थियो। नजिकै पार्क गरिएको उनको सवारीसाधनबाट चेम्बरमा गोली लोड गरिएको पिस्तोल, अतिरिक्त म्यागजिन तथा अन्य सुरक्षा सामग्री पनि फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनको क्यालिफोर्नियाको डाउनीस्थित निवासमा गरिएको खानतलासीबाट अवैध रूपमा परिमार्जित एआर–प्लाटफर्म राइफल, अर्को पिस्तोल, बुलेटप्रुफ भेस्ट, उच्च क्षमताका म्यागजिन, ठूलो परिमाणमा गोलीगठ्ठा, रेडियो सञ्चार उपकरण तथा अनुसन्धानकर्ताले ूचिन्ताजनकू भनेका नोटबुकहरू बरामद भएका छन्।
टाएलेविरुद्ध अवैध रूपमा लुकाएर हतियार बोकेको, प्रतिबन्धित गोला–बारुद राखेकोलगायतका अभियोग दर्ता गरिएको छ। साथै, उनी सन् २०२५ मा भएको एक डकैती घटनामा पनि अनुसन्धानको दायरामा रहेको अधिकारीहरूले बताएका छन्। उनले अदालतमा आफू निर्दोष रहेको दाबी गर्दै आरोप अस्वीकार गरेका छन्।
प्रहरीका अनुसार टाएले पछिल्ला केही महिनादेखि ट्रम्पको गल्फ क्लब आसपास बारम्बार देखिएको र घटनाको थप अनुसन्धान संघीय तथा स्थानीय सुरक्षा निकायहरूले संयुक्त रूपमा गरिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।