काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार चौथो सत्रमा बढ्दै बिहीबार सात साताकै उच्च स्तरमा पुगेको छ। अमेरिकी डलर कमजोर हुनु, अमेरिकी ट्रेजरी प्रतिफल घट्नु र स्ट्रेट अफ हर्मुज पुनः खोलिने सम्भावनाले सुनको माग बढाएको हो।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ४.१७ प्रतिशत अर्थात १७० डलरले बढेर प्रतिऔंस ४ हजार २६४ डलर पुगेको छ । यो मूल्य जुन १८ यताकै उच्च स्तर हो। बुधबार सुनले फेब्रुअरीपछि सबैभन्दा ठूलो दैनिक वृद्धि समेत देखाएको थियो।
मध्यपूर्वमा कूटनीतिक समाधान नजिकिँदै गएको अपेक्षाले तेलको मूल्यमा दबाब सिर्जना गरेको छ। तेल सस्तो हुँदा मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने र केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने आवश्यकता कम हुने अनुमानले सुनलाई समर्थन गरेको हो।
यसैबीच, इरान र ओमानबीचको सम्भावित सम्झौताले अमेरिका–इरानबीच जारी तनाव कम गर्न र स्ट्रेट अफ हर्मुजमार्फत जहाज आवागमन सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यस खबरपछि कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
यसअघि अमेरिका–इरान द्वन्द्व सुरु भएपछि उर्जा मूल्य बढ्ने र मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर उच्च रहन सक्ने चिन्ताले सुन दबाबमा परेको थियो। तर पछिल्लो समय अमेरिकी ब्याजदर वृद्धिको सम्भावना घट्दै गएको छ। सेप्टेम्बरमा अमेरिकी ब्याजदर वृद्धि हुने बजार अपेक्षा दुई दिनअघिको ६७ प्रतिशतबाट घटेर ५५ प्रतिशतमा आएको छ।
अमेरिकी १० वर्षे ट्रेजरी नोटको प्रतिफल घट्नु र डलर सूचकांक कमजोर हुनुले पनि सुनलाई थप आकर्षक बनाएको छ। डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य तोकिएको सुन सस्तो पर्न जान्छ।
यस्तै आज चाँदीको भाउ समेत ३.३७ प्रतिशतले बढेर प्रतिऔंस ६२ डलर पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।