काठमाण्डौ । कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनवटा योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश(प्रतिफल) घोषणा गरेका छन्।
योजना व्यवस्थापक कुमारी क्यापिटलका अनुसार सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाका इकाइधनीलाई वितरण गरिने नगद प्रतिफल स्वीकृत गरेको हो।
घोषित विवरणअनुसार कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाका इकाइधनीले १० प्रतिशत (करसहित) का दरले नगद प्रतिफल प्राप्त गर्नेछन्। यस्तै कुमारी सबल योजनाका इकाइधनीलाई २.१० प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गरिनेछ।
प्रतिफल वितरण प्रयोजनका लागि भदौ ४ गते एक दिनका लागि बुक क्लोज गरिने कुमारी क्यापिटलले जनाएको छ। त्यसैले भदौ ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नियमानुसार नामसारी भएका इकाइधनीहरू मात्र घोषित प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले धितो राखिएका इकाइका हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा रिलिज लेटर पेश गरेपछि मात्र प्रतिफल सम्बन्धित इकाइधनीको खातामा जम्मा गरिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।