काठमाण्डौ । कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सुनौलो लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ४.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
कुमारी क्यापिटलका अनुसार सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले लेखापरीक्षण सम्पन्न वित्तीय विवरणका आधारमा उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
प्रतिफल वितरण प्रयोजनका लागि साउन २१ गते बुक क्लोज गरिनेछ। त्यसैले साउन २० गतेसम्म कायम रहेका इकाइधनीहरू मात्र घोषित नगद प्रतिफल प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ। यो खुलामुखी योजना हो ।
यससँगै, कुमारी सुनौलो लगानी योजनाअन्तर्गत सञ्चालनमा रहेको लाभांश पुनः लगानी योजनामा सहभागी हुन इच्छुक योग्य इकाइधनीलाई भदौ ४ गतेसम्म आवेदन दिन आह्वान गरिएको छ। पुनः लगानी योजनामा सहभागी हुने इकाइधनीले प्राप्त हुने नगद प्रतिफल बराबरको रकम सोही योजनामा पुनः लगानी गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
इच्छुक लगानीकर्ताले कुमारी क्यापिटलको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्। साथै, कम्पनीको वेबसाइट वा mutualfund.kumaricapital.com मार्फत अनलाइन आवेदन गर्ने सुविधा पनि उपलब्ध रहेको छ।
कम्पनीका अनुसार यसअघि नै पुनः लगानी योजनामा दर्ता भइसकेका इकाइधनीले पुनः आवेदन दिनु नपर्नेछ। पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीको प्रतिफल भने सम्बन्धित हितग्राही खातामा उल्लेखित बैंक खातामा नियमानुसार जम्मा गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।