काठमाण्डौ । विश्वको महत्वपूर्ण उर्जा तथा व्यापारिक जलमार्गमध्ये एक स्ट्रेट अफ हर्मुज तत्काल खुल्ने सम्भावनाबारे आशा बढिरहेका बेला इरानले अमेरिकासमक्ष कडा सर्त अघि सारेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बघेर जोलघाद्रले अमेरिकाले आफ्ना माग पूरा नगरेसम्म हर्मुज पूर्ण रूपमा नखुल्ने स्पष्ट पारेका छन्।
जोलघाद्रका अनुसार इरानले हर्मुज जलमार्ग पुनः सञ्चालन गर्न अमेरिकासँग छ वटा प्रमुख माग राखेको छ। ती मागमा इरानमाथिका प्रतिबन्ध हटाउने, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति दिने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानविरुद्ध धम्की र सैन्य हस्तक्षेप अन्त्य गर्ने तथा विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषय छन्।
साथै, इरान र उसका क्षेत्रीय सहयोगीविरुद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग पनि समेटिएको छ। इरानको कडा अडान सार्वजनिक भइरहँदा तेहरान र ओमानबीच हर्मुज हुँदै जहाज आवतजावत व्यवस्थापन गर्ने विषयमा भने वार्ता अघि बढिरहेको छ।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। तर सम्झौता भए पनि त्यसले मात्र हर्मुज तत्काल सबै व्यावसायिक जहाजका लागि खुला हुने ग्यारेन्टी नगर्ने उनको भनाइ छ। जलमार्ग खुल्न थप सर्त पूरा हुनुपर्ने इरानको अडान छ।
ओमानले पनि पछिल्लो वार्तालाई सकारात्मक र रचनात्मक भनेको छ। यसले जलडमरूमध्यको सुरक्षित आवागमनका लागि कुनै किसिमको समझदारी बन्ने सम्भावना बढाएको छ।
अमेरिकी पक्ष भने हर्मुजबाट व्यावसायिक जहाजको निर्वाध आवागमन सुनिश्चित हुने सम्झौता छिट्टै हुन सक्नेमा आशावादी देखिएको छ। अमेरिकी अधिकारीका अनुसार इरान र ओमानबीच सहमति बनेर व्यावसायिक जहाजलाई निर्बाध आवतजावतको सुनिश्चितता भए इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने दिशामा अमेरिका अघि बढ्न सक्छ।
तर इरानले हर्मुज खोल्ने विषयलाई केवल जहाज आवतजावतको प्राविधिक व्यवस्थासँग सीमित राख्न खोजेको छैन। प्रतिबन्ध, युद्धको क्षतिपूर्ति, अमेरिकी सैन्य उपस्थिति र रोक्का सम्पत्तिजस्ता व्यापक राजनीतिक तथा आर्थिक मुद्दालाई पनि जलमार्ग पुनः सञ्चालनसँग जोडेको छ।
हर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय समुद्री आवागमनमा लामो अवरोधले विश्व ऊर्जा आपूर्ति र व्यापारमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले वार्तालाई विश्व बजारले नजिकबाट नियालिरहेको छ।
एकातिर इरान र ओमानबीच समझदारीको सम्भावनाले जलमार्ग खुल्ने आशा बढाएको छ भने अर्कोतर्फ तेहरानले अमेरिकासँग राखेका सर्तले तत्काल समाधानमा चुनौती देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।