काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी क्षेत्रलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको विधेयक पारित गर्न अमेरिकी कंग्रेसलाई आग्रह गरेपछि बिटक्वाइन, इथरलगायत प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
बिटक्वाइनको मूल्य करिब ५.२ प्रतिशतले बढेर ७१ हजार ८८० अमेरिकी डलर आसपास पुगेको छ। त्यस्तै, दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेर २ हजार २८८.९१ डलर पुगेको छ।
यद्यपि, बिटक्वाइन अझै सन् २०२६ को मध्य जनवरीमा कायम भएको ९४ हजार ८२० डलरको उच्च मूल्य र गत वर्ष अक्टोबर ६ मा कायम भएको १ लाख २६ हजार १९८ डलरको सर्वकालीन उच्च मूल्यभन्दा निकै तल छ।
ट्रम्पले ‘पर्पेचुअल फ्युचर्स’ कारोबारका लागि लोकप्रिय बन्दै गएको विकेन्द्रीकृत एक्सचेन्ज हाइपरलिक्विडलाई नियमन गर्ने संकेतसमेत दिएका छन्। त्यसपछि हाइपरलिक्विडको टोकनको मूल्य पछिल्लो २४ घण्टामा करिब २५ प्रतिशतले बढेको कोइनगेको तथ्यांकले देखाएको छ।
यसैबीच, अमेरिकी ट्रेजरी बन्डको प्रतिफल घट्दा बिटक्वाइनमा आधारित आई सेयर्स बिट्क्वाइन ट्रस्टको कारोबारसमेत उल्लेख्य बढेको छ। हेडलाइन सार्वजनिक हुनुअघि नै यसको कारोबार ३० दिनको औसतभन्दा ४.५ गुणाभन्दा बढी पुगेको थियो।
अमेरिकी ट्रेजरीले २० वर्षे र ३० वर्षे सरकारी बन्डको बाइब्याक उल्लेख्य रूपमा बढाउने घोषणा गरेपछि दीर्घकालीन बन्डको यिल्डमा गिरावट आएको छ। यसले बिटक्वाइनजस्ता उच्च जोखिम भएका सम्पत्तिमा लगानीकर्ताको आकर्षण बढाएको बजार विश्लेषकहरूको भनाइ छ।
स्ट्यान्डर्ड चार्टर्डका डिजिटल एसेट्स अनुसन्धान प्रमुख जेफ्री केन्ड्रिकले अमेरिकी ट्रेजरीको दीर्घकालीन सरकारी ऋणसम्बन्धी कदम बिटक्वाइनका लागि सकारात्मक संकेत भएको बताएका छन्। उनले सन् २०२६ को अन्त्यसम्म बिटक्वाइन १ लाख डलर पुग्ने दिशामा लगानीकर्ताले तयारी गर्नुपर्ने बताएका छन्।
फन्डस्ट्राटका सहसंस्थापक तथा अनुसन्धान प्रमुख थोमस लीका अनुसार पछिल्ला केही दिनमा क्रिप्टोकरेन्सीको मूल्यमा आएको तीव्र उतारचढावले इतिहासकै दोस्रो ठूलो ‘सर्ट लिक्विडेसन’ निम्त्याएको छ। ठूलो मूल्यवृद्धिका कारण इथर पनि तीन महिनायताकै उच्च स्तरमा पुगेको उनले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।