काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनायताकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी ट्रेजरी विभागले हालै दीर्घकालीन ऋणपत्रको बायब्याक कार्यक्रम विस्तार गर्ने घोषणा गरेपछि बढेको सुनको मूल्यवृद्धि मंगलबार पनि जारी रहेको हो।
मंगलबारको कारोबारको क्रममा सुनको मूल्य बढेर प्रतिऔंस ४ हजार ६६८ डलरसम्म पुगेको थियो । यो मूल्य गत मे १४ यताकै उच्च हो । यो समाचार तयार पार्दासम्म भने सुनको मूल्य ०.५४ प्रतिशत अर्थात २४ डलरले बढेर प्रतिऔंस ४ हजार ६४० डलर पुगेको छ ।
अमेरिकी डलरको मूल्य कमजोर हुने चिन्ताले पछिल्लो समय सुनमा लगानी बढाएको छ। आगामी दिनमा सुनको मूल्यमा केही गिरावट आए पनि खरिदकर्ता सक्रिय रहने र मूल्य क्रमशः ४ हजार ९ सयदेखि ५ हजार डलरको प्रतिऔंस स्तरतर्फ अघि बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ।
गत साता अमेरिकी ट्रेजरी विभागले लामो अवधिका ट्रेजरी नोट तथा बन्डको तरलता सहयोगका लागि गरिने बायब्याक कारोबारको आकार दोब्बर बनाउने घोषणा गरेको थियो। उक्त घोषणापछि अमेरिकी डलरको मूल्यमा थप क्षय हुन सक्ने आशंका बढ्दा सुनको मागमा तीव्र वृद्धि भएको हो।
अमेरिकी डलरको मूल्य कमजोर हुने आशंकाले आगामी केही सातासम्म सुनको मूल्यलाई समर्थन मिल्ने जनाएको छ। अमेरिकी फेडरल रिजर्भले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने स्पष्ट संकेत नदिएको अवस्थाले समेत सुनप्रति लगानीकर्ताको आकर्षण कायम रहने विश्लेषण गरिएको छ।
यद्यपि, उच्च ब्याजदरले सुनमा लगानीको आकर्षण घटाउन सक्ने जोखिम रहन्छ। सुनले प्रतिफल वा ब्याज नदिने भएकाले ब्याजदर उच्च हुँदा अन्य ब्याज दिने सम्पत्तिको तुलनामा सुनमा लगानी गर्दा अवसर लागत बढ्ने गर्छ।
यसैबीच, अमेरिकी फेडरल रिजर्भका अध्यक्ष केभिन वार्शले यसै साता हुने वार्षिक ज्याक्सन होल सम्मेलनमा पहिलोपटक सम्बोधन गर्ने तयारी गरेका छन्। लगानीकर्ताले उनको सम्बोधनबाट अमेरिकी बन्डको प्रतिफलमा भएको पछिल्लो वृद्धिबारे फेडको धारणा तथा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनबाट फेडको स्वतन्त्रतासम्बन्धी स्पष्ट संकेत खोजिरहेका छन्।
भूराजनीतिक मोर्चामा अमेरिका र इरानबीचको तनावले पनि सुनको मूल्यलाई समर्थन गरिरहेको छ। अमेरिकाले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाएपछि तेहरानले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानले भने आफ्ना प्रमुख व्यापारिक साझेदारहरूले अमेरिकी दबाब अभियानको प्रतिरोध गर्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।