काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा देखिएको अस्थिरता र लगानीकर्ताको बढ्दो निराशाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टमाथि लगानीकर्ताले आलोचना गर्न थालेका छन् ।
लगानीकर्ताहरूले अर्थमन्त्री र सेबोन अध्यक्षले पूँजीबजार सुधार तथा लगानीकर्ताको मनोबल बढाउने विषयमा ठोस काम गर्नुभन्दा सार्वजनिक अभिव्यक्ति र आश्वासनमा बढी जोड दिएको आरोप समेत लगााएका छन् ।
सेयर लगानीकर्ताहरुले बजारमा देखिएको समस्या समाधान गर्न भाषण र आश्वासनभन्दा तत्काल प्रभावकारी नीति तथा व्यवहारिक कदम आवश्यक रहेको बताएका छन् । बजारमा निरन्तर दबाब सिर्जना भइरहेका बेला सम्बन्धित निकायबाट ठोस पहल नहुँदा लगानीकर्ताको विश्वास थप कमजोर बन्दै गएको उनीहरूको गुनासो छ ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले समेत सरकारले पूँजीबजारप्रति व्यवहारिक रूपमा भरोसा दिलाउन नसक्दा आम लगानीकर्ता प्यानिक अवस्थामा पुगेको बताएका छन् । पछिल्लो अवस्थाले पूँजी पलायनको जोखिमसमेत बढाएको उनको तर्क छ ।
उनले सरकारले पूँजीबजारप्रति विश्वास जगाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै लगानीकर्ताले पनि संयमित भएर आफ्नो लगानी रणनीति बनाउनुपर्ने तर्क व्यक्त गरेका छन् ।
‘सरकारले पूँजीबजारप्रति व्यावहारिक रूपमा भरोसा दिलाउन नसक्दा आम लगानीकर्ताहरू प्यानिक भएका छन् । यस्तो अवस्थाले त पूँजी पलायन नै हुने जोखिम बढ्यो’ पाण्डेले भने, ‘अहिलेको अवस्थामा लगानीकर्ताले पनि स्वयं पूँजीबजारप्रतिको विश्वास कायम राख्नुपर्ने अवस्था देखिएको छ ।’
यसका साथै धैर्यतालाई आत्मसात गर्दै लगानीकर्ताले कठिन परिस्थितिमा आफू कसरी टिक्ने भन्ने रणनीति बनाउनुपर्ने उनको भनाइ छ । पाण्डेले लगानीकर्तालाई आफू र आफूले लगानी गरेको कम्पनीप्रति विश्वास कायम राख्नसमेत लगानीकर्तालाई आग्रह गरेका छन् ।
सरकार तथा राजनीतिक नेतृत्वप्रति समेत असन्तुष्टि व्यक्त गर्दै पाण्डेले देशमा स्वार्थकेन्द्रित प्रवृत्ति हाबी भएको टिप्पणी गरेका छन् । ‘यो देशमा कसैले कसैको लागि केही गर्दैन, गर्छ त आफ्नो स्वार्थको लागि’ उनले भने, ‘सबै एउटै ड्याङका मुला हुन्, जसको सरकार आएपनि सेयर लगानीकर्ताको हितमा कसैले काम गर्दैन, त्यसकारण लगानीकर्ता आफैं संयमित भई बजारप्रति विश्वास कायम राख्नुपर्ने देखिन्छ ।’
सेयर लगानीकर्ता सुरज खड्काले पनि अर्थमन्त्री र सेबोन अध्यक्षले पूँजीबजार सुधारका विषयमा ठोस काम गर्नुभन्दा बढी कुरा र गफमै सीमित भएको आरोप लगाएका छन् । बजारको अवस्था सुधार गर्न पटक–पटक आश्वासन र अभिव्यक्ति आउने गरे पनि त्यसअनुसार व्यवहारिक कदम नदेखिएको उनको गुनासो छ ।
सरकार तथा नियामक निकायले पूँजीबजारलाई प्राथमिकतामा राख्दै बजारको विश्वास पुनःस्थापित गर्न तत्काल परिणाम देखिने कदम चाल्नुपर्ने उनले माग गरेका छन् ।
पूँजीबजारको अवस्था बिग्रँदै जाँदा नेतृत्व तहबाट आश्वासन र अभिव्यक्तिभन्दा व्यवहारिक उपचार आवश्यक रहेको बताउँदै सामाजिक सञ्जालमा उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘लौन डाक्टर साहेब, पूँजीबजार बिरामी भयो, उपचार गर्नुपर्यो ।’
बजारमा देखिएको समस्या समाधान गर्न सरकार तथा नियामक निकायबाट ठोस कदमको अपेक्षा भइरहेका बेला खड्काले यस्तो व्यंग्य गरेका हुन् । उनले पूँजीबजारको अवस्था बिग्रँदै जाँदा नेतृत्व तहबाट आश्वासन र अभिव्यक्तिभन्दा व्यवहारिक उपचार आवश्यक रहेको बताएका छन् ।
सेयर लगानीकर्ता तारा फुल्लेलले पनि नेपाली सेयरबजारको समस्या बजार घट्नुमा मात्रै सीमित नरहेको बताएका छन् । उनले लगानीकर्ताको घट्दो विश्वास र कमजोर नियामकीय वातावरणलाई समेत बजारका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् ।
फुल्लेलका अनुसार पछिल्लो अवस्थाबाट बाहिर निकाल्न समयमै नीतिगत सुधार, पारदर्शी नियमन तथा लगानीकर्तामैत्री निर्णय आवश्यक छ । सरकार, नियामक र सम्बन्धित निकायले बजारको समस्या र लगानीकर्ताको अवस्थाप्रति संवेदनशील भएर काम गरेमा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सकिने उनको भनाइ छ ।
फुल्लेलले लगानीकर्ताका प्रतिनिधिसँग पर्याप्त छलफल नगर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् । ‘सम्बन्धित निकायले संवेदनशील भएर काम गरेमा लगानीकर्ताको विश्वास फर्किन्छ र सेयरबजार दिगो विकासको आधार बन्न सक्छ ! विडम्बनाः लगानिकर्ताका प्रतिनिधि संग छलफल नै गरिंदैन, सौताको व्यवहार गरिन्छ ! ’ उनले भने, ‘यसअघि भएका छलफलहरू समेत प्रभावकारी परिणाममा पुग्न सकेको छैन यसअघिको सबै छलफल जति ‘हिस्स बुढी, ङिच्च दाँत’ उखानको चरितार्थ ।’
विशेषगरी अर्थमन्त्री र सेबोन नेतृत्वले पूँजीबजारको समस्या समाधानका लागि ठोस पहल गर्नुपर्ने भन्दै लगानीकर्ताले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । सेयर लगानीकर्ताहरुको प्रश्न छ पूँजीबजार ‘बिरामी’ भइरहँदा यसको उपचार गर्ने जिम्मेवारी लिएका निकायले कहिले प्रभावकारी कदम चाल्ने ?


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।