काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।
कम्पनीले १४औँ वार्षिक साधारण सभाबाट निर्णय भई १५ प्रतिशत बोनस सेयर वितरणपश्चात कायम भएको चुक्तापूँजी रु. ५७ करोड ५० लाखको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगसमक्ष पूर्वस्वीकृतिको निवेदन दिएको थियो।
कम्पनीका अनुसार उक्त अनुपातमा रु. ५७ करोड ५० लाख बराबरको ५७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको थियो।
विद्युत् नियमन आयोगले भदौ ८ को पत्रमार्फत केही संशोधनसहित हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।
कम्पनीले आयोगबाट प्राप्त पूर्वस्वीकृतिसम्बन्धी पत्रको प्रतिलिपिसमेत सार्वजनिक गरेको छ। पूर्वस्वीकृति प्राप्त भएसँगै कम्पनीलाई प्रस्तावित हकप्रद सेयर निष्कासन प्रक्रियालाई अघि बढाउने बाटो खुलेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।