काठमाण्डौ । रसुवा हुँदै आएको भोटेकोशीको भीषण बाढीले पृथ्वी राजमार्गका विभिन्न क्षेत्र जोखिममा परेपछि काठमाडौंको नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक पूर्ण रूपमा बन्द गरिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बाढीले धादिङ जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र जोखिम थप फैलिन सक्ने अवस्था देखिएपछि नागढुंगा–भरतपुर सडकखण्डमा दुवैतर्फको सवारी आवागमन रोकिएको हो।
बाढीको बहाव तीव्र रहेको र तटीय क्षेत्रका विभिन्न स्थानमा क्षति भइरहेको हुँदा तत्काल सडक खुलाउने अवस्था नरहेको प्रहरीले जनाएको छ।
डीआईजी काफ्लेका अनुसार बाढीले दर्जनौँ बस्ती तथा बजार क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक सूचना आएको छ। तर बाढीको प्रभाव जारी रहेकाले कति भौतिक तथा मानवीय क्षति भएको छ भन्ने यकिन गर्न सकिने अवस्था अझै बनेको छैन।
तटीय क्षेत्रका बासिन्दाको खोज तथा उद्धारका लागि काठमाडौंबाट नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको छ।
भोटेकोशीबाट आएको बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदै गएपछि धादिङ, नुवाकोट र चितवनसम्म उच्च सतर्कता अपनाइएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई नदी किनारबाट टाढा रही सुरक्षित स्थानमा बस्न सम्बन्धित निकायले आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।