काठमाण्डौ । रसुवामा आएको भीषण बाढीबाट ठूलो संख्यामा घाइते हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै वीर अस्पतालले आकस्मिक उपचारदेखि आईसीयू र भेन्टिलेटरसम्मका सेवा ‘फुल अलर्ट’मा राखेको छ।
अस्पतालले एकैपटक ठूलो संख्यामा घाइते आइपुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आकस्मिक कक्ष, आईसीयू, भेन्टिलेटर, रक्त बैंक, औषधि तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको विशेष व्यवस्थापन गरेको हो।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू अस्पताल आइपुगे लगत्तै उनीहरूको स्वास्थ्य अवस्थाका आधारमा ‘ट्रायाज’ प्रणालीमार्फत वर्गीकरण गरी उपचार सुरु गरिनेछ।
अस्पतालमा बिरामीलाई अवस्थाअनुसार ग्रिन, यलो र रेड क्षेत्रमा वर्गीकरण गर्ने व्यवस्था छ। सामान्य अवस्थामा रहेका तथा हिँडडुल गर्न सक्ने बिरामीलाई ग्रिन क्षेत्रमा राखिनेछ भने मध्यम तथा गम्भीर अवस्थाका बिरामीका लागि छुट्टाछुट्टै उपचार क्षेत्र तयारी अवस्थामा राखिएको छ।
गम्भीर बिरामीका लागि यलो क्षेत्रमा तत्काल प्रयोग गर्न मिल्ने गरी २७ वटा बेड तयारी अवस्थामा राखिएको निर्देशक नेपालले जानकारी दिए।
बिरामीको चाप बढेमा हालको ग्रिन क्षेत्रलाई समेत यलो क्षेत्रमा रूपान्तरण गरी थप १० देखि १५ जना बिरामी व्यवस्थापन गर्न सकिने गरी योजना बनाइएको छ।
अस्पतालले आईसीयूमा समेत बेड खाली गरेर आपतकालीन प्रयोगका लागि राखेको छ। अस्पतालसँग हाल करिब १० वटा भेन्टिलेटर उपलब्ध रहेको जनाइएको छ।
‘तत्कालका लागि गम्भीर अवस्थाका १०० बिरामीसम्म पनि व्यवस्थापन गर्न सक्ने अवस्थामा हामी छौं,’ निर्देशक नेपालले बताएका छन्।
अस्पतालले आकस्मिक भवनमै आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको भण्डारणसमेत तयारी अवस्थामा राखेको छ। आवश्यकता पर्नेबित्तिकै औषधि उपलब्ध गराउन फार्मेसी र आपूर्ति संयन्त्रलाई समेत सक्रिय अवस्थामा राखिएको छ।
१५० पाउन्ड रगत तयारी अवस्थामा
बाढीबाट एकैपटक ठूलो संख्यामा घाइते आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै रक्त व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिइएको छ।
वीर अस्पतालको रक्त बैंकमा करिब १५० पाउन्ड रगत तयारी अवस्थामा रहेको निर्देशक नेपालले जानकारी दिएका छन्।
सम्भावित विपद्लाई ध्यानमा राखेर नियमित शल्यक्रियामा प्रयोग हुने केही रगतको खपतसमेत तत्कालका लागि नियन्त्रण गर्दै आकस्मिक तथा गम्भीर बिरामीलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
अस्पतालका अनुसार अवस्था थप जटिल बनेर एकैपटक ठूलो संख्यामा घाइते आइपुगे औपचारिक रूपमा ‘डिजास्टर’ घोषणा गरी अस्पतालका सबै जनशक्ति तथा उपचार संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिनेछ।
‘एकैपटक धेरै बिरामी आउन थालेमा अस्पतालमा औपचारिक रूपमा डिजास्टर घोषणा गरेर सबै संयन्त्र पूर्ण रूपमा सक्रिय गर्छौं,’ निर्देशक नेपालले भने।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्य तीव्र बनाइएको छ। सम्भावित घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन काठमाडौंसहित विभिन्न स्थानका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।