काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी भन्सार कार्यालयका कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन्। अझै १४ जना कर्मचारीको अवस्था भने अज्ञात रहेको छ।
अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका हुन्।
रसुवागढी भन्सार कार्यालयमा कुल ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये २५ जना सम्पर्कमा आइसकेका छन् भने बाँकी ११ जना स्थायी कर्मचारीको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्। बाँकी तीन जना करार तथा ज्यालादारी कर्मचारी पनि अझै सम्पर्कविहीन रहेको अर्थ मन्त्रालयले जनाएको छ।
यसरी स्थायी र करार तथा ज्यालादारी गरी कुल १४ जना कर्मचारीको खोजी भइरहेको छ।
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवागढी क्षेत्रका भौतिक संरचनामा गम्भीर क्षति पुर्याएको छ। भन्सार कार्यालयका संरचनासमेत बाढीबाट प्रभावित भएपछि त्यहाँ कार्यरत कर्मचारीको अवस्थाबारे चिन्ता बढेको थियो।
सम्पर्कमा आउन बाँकी कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित सरकारी संयन्त्र परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्कसमेत प्रभावित भएकाले कर्मचारीको यकिन अवस्थाबारे विवरण संकलनमा कठिनाइ भइरहेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।