बुधबार, भाद्र १०,२०८३ 10:36:41
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 10:36:41
Bizshala
Global IME Bank Limited

भोटेकोशीमा इतिहासकै विभीषिका : मृत्यु, बेपत्ता र विनाशको हिसाब छैन

९७ शव फेला,४०३ पर्यटकसहित सयौँ सम्पर्कविहीन; बजार, पुल, सडक र जलविद्युत् संरचना एकैसाथ ध्वस्त

भोटेकोशीमा इतिहासकै विभीषिका : मृत्यु, बेपत्ता र विनाशको हिसाब छैन
New Office

काठमाडौं। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको विनाशकारी बाढीले नेपालको उत्तरी हिमाली क्षेत्रदेखि चितवनसम्म अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार बिहान अचानक आएको गेग्रानसहितको बाढीले बस्ती, बजार, पुल, सडक, जलविद्युत् आयोजना र प्रसारण संरचना तहसनहस पार्दा मृत्यु हुने र सम्पर्कविहीन हुनेको संख्या निरन्तर बढिरहेको छ।

सशस्त्र प्रहरी बलको पछिल्लो विवरणअनुसार बाढीमा बगेका ९७ जनाको शव फेला परेको छ। सशस्त्रकै यसअघिको जिल्लागत विवरणमा ७२ जनाको मृत्यु पुष्टि भएको उल्लेख थियो। नयाँ शवहरू फेला पर्ने क्रम जारी रहेकाले पहिचान र जिल्लागत विवरण अद्यावधिक भइरहेको छ।

सशस्त्र प्रहरीका अनुसार हालसम्म ५४ जनाको उद्धार गरिएको छ। तर विभिन्न सरकारी निकायबाट फरक–फरक समयमा सार्वजनिक भएका विवरणबीच एकरूपता नहुँदा मृत्यु, बेपत्ता, सम्पर्कविहीन र उद्धार गरिएकाको यकिन एकीकृत संख्या अझै आउन सकेको छैन।

बाढीले सबैभन्दा बढी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलाई प्रभावित गरेको छ। शवहरू घटनास्थलभन्दा धेरै तलसम्म बगेर पुगेका कारण चितवनमै ठूलो संख्यामा शव फेला परेका छन्।

सशस्त्र प्रहरीले यसअघि सार्वजनिक गरेको ७२ मृतकको जिल्लागत विवरणअनुसार चितवनमा २८, धादिङमा १८, नुवाकोटमा ११, गोरखामा नौ, तनहुँमा चार तथा पूर्वी नवलपुर र रसुवामा एक–एक शव फेला परेका थिए। त्यसपछि थप शव बरामद भएसँगै कुल संख्या ९७ पुगेको हो।

Bizshala
CG Motors

सम्पर्कविहीन ४०३ पर्यटकमा ३४१ विदेशी

नेपाल पर्यटन बोर्डका अनुसार बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्। तीमध्ये ३४१ विदेशी र ६२ नेपाली छन्। सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेको बोर्डको विवरण छ।

सबैभन्दा बढी भारतका १३३ पर्यटक सम्पर्कमा छैनन्। अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ नागरिक सम्पर्कविहीन छन्।

त्यस्तै, युक्रेनका सात, दक्षिण अफ्रिका र सिंगापुरका छ–छ, न्युजिल्यान्ड र जापानका पाँच–पाँच, जर्मनीका चार, फ्रान्सका तीन तथा स्पेनका दुई पर्यटक सम्पर्कबाहिर रहेको पर्यटन बोर्डले जनाएको छ।

यसअघि बोर्डबाटै ३८४ पर्यटक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। पछिल्लो तथ्यांकमा यो संख्या बढेर ४०३ पुगेको हो। सञ्चार सम्पर्क विच्छेद भएका कारण सम्पर्कविहीन सूचीमा परेका सबैलाई बेपत्ता नै मान्न नमिल्ने भए पनि उनीहरूको अवस्थाबारे जानकारी नआउँदा परिवार, दूतावास र पर्यटन व्यवसायी चिन्तित बनेका छन्।

ऊर्जाका आयोजना ‘मानवीय संकट’को केन्द्र

बाढीले सबैभन्दा गम्भीर प्रहार गरेको क्षेत्रमध्ये जलविद्युत् आयोजना पनि हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पछिल्लो प्रारम्भिक विवरणअनुसार विभिन्न आयोजना र निर्माणस्थलमा कार्यरत २२३ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्।

यसअघि नेपाल विद्युत् प्राधिकरणले १९० जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो। पछि विभिन्न ठेकेदार कम्पनीका कामदारसमेत समेटिँदा मन्त्रालयको विवरणमा संख्या बढेर २२३ पुगेको देखिन्छ।

रसुवागढी जलविद्युत् केन्द्रमा मात्रै ९२ जना सम्पर्कमा छैनन्। त्यहाँ विभिन्न ठेकेदारमार्फत मर्मतसम्भार तथा निर्माणमा खटिएका थप २९ कामदारको पनि अवस्था अज्ञात छ।

निर्माणाधीन त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत २१ कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत चेर्कु कम्पनीबाट सोही साइटमा खटिएका ११ कामदार सम्पर्कबाहिर छन्। चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रका छ र आवास क्षेत्रका एकजना पनि सम्पर्कमा छैनन्।

त्रिशूली–३ ‘ए’को विद्युत्गृह मर्मतमा संलग्न ४४ कर्मचारी तथा श्रमिकको अवस्था अज्ञात छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका एक–एक कर्मचारी, चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक कर्मचारी तथा गोसाइँकुण्ड क्षेत्रका एक मिटर रिडर पनि सम्पर्कमा आएका छैनन्।

त्रिशूली २२० केभी ३ ‘बी’ हबमा ठेकेदारका तर्फबाट कार्यरत १६ जना पनि सम्पर्कविहीन छन्।

माथिल्लो त्रिशूली–१ मा विदेशी प्राविधिकसहित सयौँ उद्धारको पर्खाइमा

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत आठ कोरियन नागरिक र अन्य १० कर्मचारी सम्पर्कविहीन छन्। आयोजनाको विद्युत्गृह नजिक रहेका करिब २०० कामदार र १० कोरियन प्राविधिक सुरक्षित स्थानमा बसेर उद्धारको प्रतीक्षामा रहेको प्रारम्भिक विवरण छ।

परीक्षण उत्पादनको चरणमा रहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका २५ कर्मचारी र ३५ कामदार पनि बाढीपछि सम्पर्कमा आएका छैनन्।

सडक, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा आयोजनास्थलमा फसेकाको अवस्थाबारे यकिन जानकारी संकलन गर्न कठिन भएको छ। त्यसैले सम्पर्कविहीन भनेर सार्वजनिक गरिएका विभिन्न सूचीमा एउटै व्यक्ति दोहोरिएको वा पछि सम्पर्कमा आइसकेको हुन सक्ने सम्भावना पनि छ।

निकुञ्ज र हाइड्रोको सुरक्षामा खटिएका ४४ सैनिक पनि सम्पर्कबाहिर

रसुवाका विभिन्न जलविद्युत् आयोजना र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेनाका ४४ सैनिक पनि सम्पर्कविहीन छन्।

सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उनीहरूको खोजी भइरहेको बताएका छन्। सञ्चार प्रणाली ध्वस्त भएकाले सैनिकहरू सुरक्षित स्थानमा रहे पनि सम्पर्क स्थापित हुन नसकेको हो वा बाढीमा परेका हुन् भन्ने खुलेको छैन।

रसुवागढी भन्सार र अध्यागमन कार्यालयका कर्मचारी तथा प्रहरीसमेत सम्पर्कविहीन रहेको विवरण आएको छ। तर उनीहरूको एकीकृत र आधिकारिक संख्या सार्वजनिक हुन बाँकी छ।

२५ यात्रु बोकेको बस कहाँ पुग्यो, पत्तो छैन

धादिङबेँसीबाट २५ यात्रु लिएर गोसाइँकुण्डतर्फ गएको बा ५ ख १२५० नम्बरको रिजर्भ बस पनि सम्पर्कविहीन भएको छ।

धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित बस बुधबार बिहान गोसाइँकुण्डका लागि छुटेको थियो। बाढी आएको जानकारी पाएपछि बिहान १०ः३५ बजे चालक छविलाल श्रेष्ठलाई फोन गर्दा घण्टी गए पनि त्यसपछि सम्पर्क हुन नसकेको यातायात समितिले जनाएको छ।

बसमा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका यात्रु सवार थिए। बस कहाँसम्म पुगेको थियो र त्यसमा रहेका यात्रुको अवस्था के छ भन्ने यकिन भएको छैन। समितिले बस वा यात्रुबारे जानकारी हुनेलाई तत्काल सुरक्षा निकायमा खबर गर्न आग्रह गरेको छ।

राष्ट्रिय विद्युत् प्रणालीबाट ४३१.१ मेगावाट बाहिरियो

भोटेकोशी–त्रिशूली करिडोरका आयोजना र प्रसारण संरचनामा ठूलो क्षति पुगेपछि ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। एकैपटक झन्डै साढे चार सय मेगावाट उत्पादन बन्द हुनु विद्युत् प्रणालीका लागि गम्भीर धक्का हो।

विद्युत् उत्पादन बन्द भएपछि लोडसेडिङ फर्किने आशंका बढे पनि नेपाल विद्युत् प्राधिकरणले वर्षायाम भएकाले अन्य करिडोरका आयोजना उच्च क्षमतामा सञ्चालन भइरहेको र तत्काल आपूर्ति व्यवस्थापन गर्न सकिने जनाएको छ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा विद्युत् कटौती हुन नदिन वैकल्पिक आपूर्ति व्यवस्थापन सुरु गरिएको छ। त्रिशूली करिडोरको आपूर्ति अवरुद्ध भएपछि मस्र्याङ्दी, तामाकोशी र सुनकोशी करिडोरबाट उपत्यकामा विद्युत् ल्याउने व्यवस्था मिलाइएको छ।

मातातीर्थ सबस्टेसनमार्फत मस्र्याङ्दी करिडोर तथा लप्सीफेदी र चाँगुनारायण सबस्टेसनमार्फत तामाकोशी र सुनकोशी करिडोरको विद्युत् प्रवाह बढाइँदै छ। बानेश्वर, टेकु, बालाजु, लैनचौर, पाटन र भक्तपुरलगायत वितरण सबस्टेसनमा वैकल्पिक लाइनबाट विद्युत् पुर्‍याउने प्रयास भइरहेको छ।

ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रका कर्मचारीलाई चौबीसै घण्टा खटिन निर्देशन दिइएको छ। प्राधिकरणले तत्काल लोडसेडिङ हुन नदिने प्रयास गरिरहेको बताए पनि क्षतिग्रस्त आयोजना र प्रसारण संरचना पुनः सञ्चालनमा ल्याउन कति समय लाग्छ भन्ने खुलेको छैन।

बजार, बस्ती, बैंक, पुल र सडक एकैपटक बगे

बाढीले रसुवागढीदेखि टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली क्षेत्र हुँदै तल्लो तटीय भूभागसम्म ठूलो क्षति पुर्‍याएको छ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार तुप्चे, ढुंगे, त्रिशूली बजार र देवीघाटलगायत क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बस्ती, बैंक, पुल, बजार र अन्य संरचना बगाएको उल्लेख गर्दै उनले यसलाई इतिहासकै ठूलो क्षति भनेका छन्।

पृथ्वी राजमार्ग र धादिङ सदरमुकाम जोड्ने पक्की पुलसहित विभिन्न पुल बगेको वा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ। सडक सम्पर्क टुटेपछि स्थलमार्गबाट उद्धार र राहत पुर्‍याउन कठिन भएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ को टिमुरे क्षेत्रमा रसुवागढी भन्सार यार्ड, अध्यागमन र सीमा पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ। खोला किनारका बजार र बस्ती बगेका छन्। विद्युत् र दूरसञ्चार टावर क्षतिग्रस्त हुँदा प्रभावित क्षेत्र अन्धकार र सञ्चारविहीन बनेको छ।

कति घरधुरी विस्थापित भए, कति निजी तथा सार्वजनिक संरचना नष्ट भए र आर्थिक क्षति कति पुग्यो भन्ने विवरण अझै संकलन हुन सकेको छैन।

१४ महिनामा दोस्रो प्रहार, अझै अर्को बाढीको जोखिम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषण गरी नेपाल–चीन सीमाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिमपहिरोपछि ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

हिमपहिरोसँगै ढुंगा र चट्टान खसेर ल्हेन्दे खोला थुनिएको र एकैपटक ठूलो परिमाणमा पानी तथा गेग्रान तल्लो क्षेत्रमा बगेको हुन सक्ने विज्ञहरूको अनुमान छ। यही बाढी भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएर रसुवादेखि चितवनसम्म विनाश मच्चाएको देखिएको छ।

तर बाढीको वास्तविक कारण अझै औपचारिक रूपमा पुष्टि भइसकेको छैन। हिमपहिरो, हिमताल विस्फोट वा नदी थुनिएर बनेको अस्थायी बाँध फुटेकोमध्ये कुन कारण निर्णायक हो भन्ने विस्तृत अध्ययनपछि मात्र खुल्नेछ।

इसिमोडका विज्ञहरूले ल्हेन्दे खोलाको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले अर्को बाढी आउन सक्ने जोखिम औँल्याएका छन्। तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।

यही खोलामा पछिल्लो १४ महिनामा दोस्रोपटक विनाशकारी बाढी आएको हो। २०८२ साउनको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडकका आठ स्थानमा करिब ५४० मिटर सडक क्षतिग्रस्त बनाएको थियो। टिमुरेको भन्सार यार्ड, धर्मकाँटा र सडक संरचनामा पनि क्षति पुगेको थियो।

उद्धारमा हेलिकोप्टर, अस्पतालमा सय शय्या तयारी

सडक सम्पर्क टुटेपछि उद्धारका लागि निजी तथा सैनिक हेलिकोप्टर परिचालन गरिएका छन्। काठमाडौं विमानस्थलस्थित उद्धार समन्वय केन्द्रका अनुसार २३ निजी र दुई सैनिक हेलिकोप्टर घाइते लिएर काठमाडौं फर्किएका थिए।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा एक सय आपत्कालीन शय्या छुट्याइएको छ। काठमाडौंका संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटसँग आपत्कालीन स्वास्थ्य सेवाका लागि समन्वय गरिएको छ।

विश्व स्वास्थ्य संगठनले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण र १५ वटा आपत्कालीन टेन्ट प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ।

तर पहिरो, क्षतिग्रस्त सडक, भत्किएका पुल, प्रतिकूल मौसम र अवरुद्ध सञ्चारका कारण खोज तथा उद्धार अभियान कठिन बनेको छ।

तथ्यांकभन्दा ठूलो छ त्रासदी

बाढीपछि फरक–फरक निकायले विभिन्न समयमा सार्वजनिक गरेका तथ्यांकमा ठूलो अन्तर देखिएको छ। शव भेटिएको संख्या, पहिचान खुलेका मृतक, उद्धार गरिएका व्यक्ति र सम्पर्कविहीनको विवरण एउटै समयको नभएकाले तिनलाई सिधै जोडेर कुल क्षति निकाल्न मिल्दैन।

पर्यटक, जलविद्युत् कर्मचारी, ठेकेदारका श्रमिक, सैनिक, प्रहरी, भन्सार तथा अध्यागमन कर्मचारी र स्थानीय नागरिकका सूचीमा दोहोरो गणना हुन सक्ने सम्भावना छ। सञ्चारविहीन भएकै कारण सुरक्षित रहेका व्यक्ति पनि सम्पर्कविहीन सूचीमा परेका हुन सक्छन्।

तर उपलब्ध विवरणले एउटै कुरा स्पष्ट गर्छ—भोटेकोशी–त्रिशूली करिडोरले पछिल्लो इतिहासकै भयावह प्राकृतिक विपत्ति सामना गरिरहेको छ। मृत्यु र बेपत्ताको वास्तविक संख्या, विस्थापित परिवार, नष्ट भएका संरचना र समग्र आर्थिक क्षतिको चित्र खोज तथा उद्धार पूरा भएपछि मात्रै खुल्नेछ।

अहिले प्रत्येक बित्दो घण्टा महत्वपूर्ण छ। माथिल्लो क्षेत्रमा फेरि बाढी आउन सक्ने जोखिम कायमै रहँदा तल्लो तटीय क्षेत्रको सुरक्षा, फसेकाको उद्धार, घाइतेको उपचार र सम्पर्कविहीनको खोजी नै राज्यको सबैभन्दा ठूलो परीक्षा बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.