काठमाडौं। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ लामो समयदेखि रगतमा हेमोग्लोबिनको मात्रा अचानक घट्ने स्वास्थ्य समस्यासँग जुधिरहेका छन्।
यही समस्याका कारण ३७ दिन अस्पतालमा बिताएका गुरुङ त्यसपछि पनि नियमित सार्वजनिक जीवनमा फर्किन सकेका थिएनन्। अस्पतालबाट डिस्चार्ज भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै उच्च निगरानीमा उपचार तथा आराम गरिरहेका थिए।
लामो समय सार्वजनिक कार्यक्रमबाट टाढा रहेका गुरुङ बिहीबार काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरस्टोरमा आयोजित विशेष पूजामा देखिए। एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको उक्त स्टोर पुनः सञ्चालनको तयारीमा छ।
तर, पूजामा गुरुङको उपस्थिति सामान्य थिएन। उनी सुरक्षित मास्क लगाएर कार्यक्रममा सहभागी भएका थिए भने उनको नजिक जाने व्यक्तिका लागि समेत मास्कको व्यवस्था गरिएको थियो। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गुरुङको वरपर भीड हुन दिइएको थिएन। मानिसहरूलाई अनावश्यक रूपमा उनको नजिक आउन र ओहोरदोहोर गर्नसमेत रोक लगाइएको थियो।
पुनर्निर्माणमा दौडिँदादौडिँदै थलिए
जेनजी आन्दोलनका क्रममा भाटभटेनीका विभिन्न स्टोर तथा गोदाममा आगजनी भएपछि गुरुङ पुनर्निर्माण अभियानमा आफैँ सक्रिय भएर खटिएका थिए। बिहान सबेरैदेखि रातिसम्म निर्माणस्थल पुग्ने, कामको प्रत्यक्ष निगरानी गर्ने र ध्वस्त संरचना जतिसक्दो छिटो उठाउने उनको दौडधुप महिनौँसम्म चल्यो।

त्यही क्रममा उनलाई सामान्य हिँडडुल गर्दा पनि अस्वाभाविक थकान महसुस हुन थाल्यो। उकालो चढ्दा अत्यधिक कमजोरी हुने र शरीरले साथ नदिने समस्या बढ्दै गएपछि स्वास्थ्य परीक्षण गराइएको थियो।
२०८३ जेठको अन्तिम सातातिर गरिएको रक्त परीक्षणमा उनको रगतमा हेमोग्लोबिनको मात्रा अत्यन्त कम देखियो। त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो।
गुरुङले हेमाटोलोजिस्ट तथा अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठ र मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलको निगरानीमा लगातार ३७ दिन उपचार गराएका थिए। हेमोग्लोबिन कम हुँदा शरीरमा अक्सिजन प्रवाह प्रभावित हुने र मुटुमा समेत अतिरिक्त दबाब पर्न सक्ने भएकाले उनको उपचारमा मुटुरोग विशेषज्ञलाई पनि सहभागी गराइएको थियो।

अस्पतालबाट निस्किए पनि घरमै उच्च निगरानी
३७ दिनपछि अस्पतालबाट डिस्चार्ज भए पनि गुरुङ तत्काल सामान्य दैनिकीमा फर्किन सक्ने अवस्थामा थिएनन्। चिकित्सकले थप आराम, नियमित परीक्षण र संक्रमणबाट विशेष सुरक्षा अपनाउन सल्लाह दिएका थिए।
गुरुङनिकट स्रोतका अनुसार हेमोग्लोबिनको मात्रा घट्न नदिने र बढाउन सहयोग गर्ने औषधि उनले करिब ६ महिनासम्म सेवन गर्नुपर्ने चिकित्सकीय सल्लाह छ। औषधि सेवनको अवधिमा संक्रमण भए हेमोग्लोबिन पुनः तीव्र रूपमा घट्न सक्ने जोखिम रहेको निकटस्थहरू बताउँछन्।
यही कारण गुरुङ महिनौँसम्म सार्वजनिक कार्यक्रममा देखिएनन्। अत्यावश्यक अवस्थामा बाहिर निस्कँदा पनि उनले मास्क, सीमित भेटघाट र भौतिक दूरीलगायतका कडा स्वास्थ्य मापदण्ड अपनाउँदै आएका छन्।
बिहीबार टंगालको विशेष पूजामा पनि यही सावधानी अपनाइएको थियो। उनलाई भेट्न चाहनेलाई मास्क दिइएको थियो भने प्रत्यक्ष सम्पर्क र भीडलाई कडाइका साथ नियन्त्रण गरिएको थियो।

यद्यपि, गुरुङलाई लागेको रोगको निश्चित चिकित्सकीय नाम वा हेमोग्लोबिन घट्नुको मूल कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। सार्वजनिक भएको विवरणले उनको मुख्य स्वास्थ्य समस्या रगतमा हेमोग्लोबिनको मात्रा अस्वाभाविक रूपमा घट्नु रहेको देखाउँछ।

खरानीबाट उठ्दै टंगाल भाटभटेनी
गुरुङ स्वास्थ्य समस्यासँग जुधिरहँदा भाटभटेनीले भने आगजनीबाट ध्वस्त आफ्ना स्टोरहरूको पुनर्निर्माणलाई तीव्रता दिएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका १२ स्टोरमध्ये अधिकांश पुनर्निर्माणपछि पुनः सञ्चालनमा आइसकेका छन्।
कम्पनीका देशभर २८ वटा सुपरस्टोर रहेको बताइएको छ। तीमध्ये काठमाडौंको टंगालस्थित स्टोर भाटभटेनीको पुरानो र व्यावसायिक रूपमा महत्त्वपूर्ण शाखामध्ये एक हो।
एक वर्षअघि आगजनीबाट ध्वस्त भएको टंगाल स्टोरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। विशेष पूजा सम्पन्न भएसँगै यसलाई असोजको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
आफ्नै स्वास्थ्यले पूर्ण साथ नदिइरहेका बेला टंगालको पुनर्जन्मसँग जोडिएको विशेष पूजामा गुरुङको सावधानीपूर्ण उपस्थितिले एउटा फरक दृश्य प्रस्तुत गर्यो-एकातिर खरानीबाट उठ्दै गरेको भाटभटेनी, अर्कातिर गम्भीर स्वास्थ्य समस्याबाट पुरानै लयमा फर्किने प्रयास गरिरहेका त्यसका संस्थापक।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।