काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये विभिन्न स्थानबाट फेला परेका १०२ वटा शव पोखरा ल्याइएको छ। ठूलो संख्यामा शव एकैपटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा ल्याइएपछि व्यवस्थापनमा समस्या देखिएको छ।
तनहुँ, नवलपुर, धादिङ, गोरखालगायत जिल्लाका विभिन्न स्थानमा फेला परेका शव पोखरास्थित प्रतिष्ठानको शवगृहमा राखिएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रतिष्ठानमा अधिकतम ८८ वटा शव व्यवस्थापन गर्न सक्ने क्षमता छ। शवगृहमा यसअघि नै केही शव रहेकाले अहिले भोटेकोशी बाढीपछि थपिएका शव व्यवस्थापन गर्न कठिन भइरहेको उनले बताए।
सङ्कलन गरिएका शवमध्ये केही पूर्ण अवस्थामा छैनन्। कतिपय शवका अङ्ग मात्रै फेला परेका छन् भने केही साना बालबालिकाका शवसमेत रहेका छन्। त्यस्ता शव तथा शरीरका अङ्गलाई साना बक्समा राखेर हालसम्म व्यवस्थापन गरिएको गुरुङले जानकारी दिए।
तर शवगृहको क्षमता लगभग भरिइसकेकाले अब थप शव राख्न कठिन हुने अवस्था आएको प्रशासनले जनाएको छ। हाल राखिएका शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गर्ने वा तोकिएको प्रक्रियाअनुसार व्यवस्थापन गरेपछि मात्रै थप शव राख्न सकिने अवस्था रहेको प्रजिअ गुरुङले बताए।
यसैबीच, शव पहिचानको प्रक्रिया पनि तीव्र बनाइएको छ। प्रत्येक शवको फोटो खिचेर अभिलेख तयार गर्ने र आफन्तबाट पहिचान भए सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ।
पहिचानमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै सबै शवको डीएनए परीक्षणका लागि आवश्यक नमुनासमेत सङ्कलन गरिएको छ। लामो समयसम्म पहिचान हुन नसकेका वा शव दाबी गर्न कोही नआएका अवस्थामा प्रचलित शव व्यवस्थापन कार्यविधिअनुसार अन्तिम संस्कार गरिनेछ।
जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठित शव व्यवस्थापन समितिले पहिचान, हस्तान्तरण तथा बेवारिसे शवको अन्तिम व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइरहेको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
भोटेकोशी बाढीपछि नदीले बगाएर विभिन्न जिल्लासम्म पुर्याएका शव फेला पर्ने क्रम जारी रहँदा पोखरामा शव व्यवस्थापनको चुनौती थप जटिल बन्न सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।