काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर पुनर्निर्माणपछि आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
भाटभटेनी सुपर मार्केट प्रालिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १४ गतेदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने जानकारी दिएको हो।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार पुनर्निर्माणको काम सम्पन्न भएसँगै स्टोरलाई ग्राहकका लागि पुनः खुला गर्न लागिएको हो। आधुनिक सुविधा, व्यवस्थित किनमेल वातावरण र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित स्टोर सञ्चालनमा ल्याइने उनले बताएका छन्।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका स्टोरहरू लुटपाट, तोडफोड तथा आगजनीको निशानामा परेका थिए। बिर्तामोडसहित कोशी प्रदेशका विराटनगर, दमक र धरानस्थित स्टोरमा समेत लुटपाटपछि आगजनी भएको थियो। देशभर भाटभटेनीका २१ वटा आउटलेटमा क्षति पुगेको र तीमध्ये १२ वटा पूर्ण रूपमा जलेको सार्वजनिक विवरणमा उल्लेख छ।

आन्दोलनपछि बन्द रहेको बिर्तामोड स्टोरलाई करिब एक वर्षको पुनर्निर्माणपछि सञ्चालनमा ल्याउन लागिएको हो। यसलाई भाटभटेनीको एउटा शाखा पुनः खुलेको घटनामात्र नभई ठूलो क्षतिपछि व्यवसाय पुनरुत्थानतर्फ अघि बढेको महत्त्वपूर्ण संकेतका रूपमा समेत हेरिएको छ।

बिर्तामोड पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र हो। महेन्द्र र मेची राजमार्गसँग जोडिएको यो सहर झापासहित इलाम, पाँचथर र ताप्लेजुङसम्मका उपभोक्ता तथा व्यवसायीको किनमेल केन्द्रका रूपमा परिचित छ। त्यसैले भाटभटेनी पुनः सञ्चालनमा आउँदा स्थानीय उपभोक्तालाई सहजता पुग्नुका साथै रोजगारी, आपूर्ति शृङ्खला, स्थानीय उत्पादनको बजार र समग्र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

आन्दोलनका कारण आफ्ना स्टोरहरू सञ्चालनमा आउन नसके पनि कर्मचारीको रोजगारी तथा सेवा–सुविधा नखोस्ने प्रतिबद्धता भाटभटेनीले त्यसबेलै सार्वजनिक गरेको थियो। क्षतिग्रस्त स्टोरहरूलाई चरणबद्ध रूपमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने योजनाअन्तर्गत बिर्तामोड स्टोर पनि पुनः बजारमा फर्किएको हो।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाबाट प्राप्त निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि ग्राहकको साथ र विश्वास कायम रहने अपेक्षा कम्पनीले गरेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।