काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
अस्पतालको फरेन्सिक विभागमा ल्याइएका शवको पहिचान तथा पोस्टमार्टमको काम जारी छ। फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ४८ शवको पोस्टमार्टम सम्पन्न भएको छ भने थप ३७ शवको पोस्टमार्टम गर्न बाँकी छ।
बाढीको भयावहता शव पहिचानको अवस्थाले समेत देखाएको छ। अस्पताल ल्याइएका ९४ शवमध्ये हालसम्म नौ जनाको मात्रै पहिचान हुन सकेको छ। पहिचान भएका ती शव परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ।
बाढीमा परेर ज्यान गुमाएका धेरै व्यक्तिको पहिचान हुन नसक्दा आफन्तको प्रतीक्षा अझै लम्बिएको छ। सम्बन्धित निकायले शवको वैज्ञानिक पहिचान, पोस्टमार्टम तथा परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया निरन्तर अघि बढाइरहेका छन्।
भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट शव भेटिने क्रम जारी रहेकाले अस्पताल तथा फरेन्सिक टोलीमाथि समेत ठूलो दबाब परेको छ। विपत्तिपछि बेपत्ता व्यक्तिको खोजी जारी रहेकाले मृतकको संख्या र पहिचानसम्बन्धी विवरण अझै अद्यावधिक हुँदै जाने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।