काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीले बगाएर नुवाकोट क्षेत्रमा फेला परेका थप तीन जनाको शवको पहिचान खुलेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार सोमबार फुलकुमारी ढकाल, गोपे तामाङ र अमृत तामाङको शव सनाखत भएको हो।
यसअघि नुवाकोटमा फेला परेका चार जनाको शव पहिचान भइसकेको थियो। थप तीन जनाको सनाखत भएसँगै नुवाकोटमा फेला परेका पहिचान खुलेका शवको संख्या ७ पुगेको छ।
प्रहरीका अनुसार पहिचान खुलेका व्यक्तिहरूमा नुवाकोट विदुर–७ सोलेकी ६७ वर्षीया फुलकुमारी ढकाल, रसुवाको उत्तरगया–१ का गोपे तामाङ र नुवाकोट किस्पाङ–५ का अमृत तामाङ रहेका छन्।
यसअघि सनाखत भएकामा नुवाकोट सूर्यगढी गाउँपालिका–५ का ५६ वर्षीय रामकृष्ण तामाङ, विदुर नगरपालिका–५ का ३५ वर्षीय निरज भण्डारी, धादिङको थाक्रे गाउँपालिका–८ का ४४ वर्षीय राजकुमार आले र नुवाकोट सूर्यगढी गाउँपालिका–२ की ५० वर्षीया शर्मिला तितुङ रहेका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीको बहावसँगै विभिन्न स्थानमा शव फेला पर्ने क्रम जारी छ। सुरक्षा निकायले फेला परेका शवको पहिचान, सनाखत र परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया निरन्तर अघि बढाइरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।