काठमाण्डौ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोबाट बीमा क्षेत्रमा ठूलो क्षति भएपछि त्यसको प्रभाव पुनर्बीमा कम्पनीसम्म पर्ने चर्चा सुरु भएको छ ।
बीमा कम्पनीहरूले बेहोर्नुपर्ने दाबी बढेसँगै पुनर्बीमा कम्पनीहरूको दायित्वसमेत बढ्न सक्ने भन्दै लगानीकर्ताको ध्यान त्यसतर्फ केन्द्रित हुन थालेको छ ।
विशेषगरी ब्रोकर हाउस, सामाजिक सञ्जाल तथा सेयर बजारका लगानीकर्ता समूहमा हिमालयन रि को सेयरमूल्य ४०० रुपैयाा र नेपाल रि को सेयरमूल्य ६०० रुपैयाँ आसपास पुग्न सक्ने चर्चा हुन थालेको छ ।
हालैको बाढी तथा पहिरोले जलविद्युत् आयोजना, निर्माणाधीन पूर्वाधार, व्यावसायिक सम्पत्तिलगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १५ बीमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
बीमा कम्पनीहरूले भुक्तानी गर्ने दाबीमध्ये पुनर्बीमा गरिएको हिस्सा सम्बन्धित पुनर्बीमा कम्पनीहरूले सम्झौताअनुसार बेहोर्नुपर्ने हुन्छ । त्यसैले प्राथमिक बीमा कम्पनीहरूमा दाबी बढ्दा पुनर्बीमा कम्पनीहरूको दाबी दायित्व पनि बढ्न सक्छ । तर वास्तविक वित्तीय प्रभाव कति पर्छ भन्ने कुरा दाबीको अन्तिम मूल्यांकन, पुनर्बीमा सम्झौताको संरचना, कम्पनीले आफैंले राखेको जोखिमको हिस्सा तथा विदेशी पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरिएको जोखिममा निर्भर हुनेछ ।
नेपालमा हाल नेपाल रि र हिमालयन रि प्रमुख स्वदेशी पुनर्बीमा कम्पनी हुन् । नेपाल रि नेपालको पहिलो पुनर्बीमा कम्पनी हो भने हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनीका रूपमा सञ्चालनमा छ ।
यता, प्राकृतिक विपत्तिपछि पुनर्बीमा कम्पनीको दायित्व बढ्ने अनुमानलाई आधार बनाएर सेयर मूल्यमा कृत्रिम प्रभाव पार्ने प्रयास हुन सक्ने जोखिमसमेत देखिएको छ । विशेषगरी ४०० र ६०० रुपैयाँजस्ता निश्चित मूल्यलाई लक्ष्य बनाएर लगानीकर्तामाझ प्रचार गरिनु बजारमा चलखेलको माध्यम बन्न सक्ने भएकाले लगानीकर्ताले यस्ता दाबीप्रति सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
बाढीपहिरोको दायित्व देखाउँदै चलखेलको आशंका !
बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो रिपोर्टिङ’का क्रममा विभिन्न ब्रोकर हाउसमा भेटिएका अधिकांश लगानीकर्ताले भने नेपाल रि र हिमालयन रिको सेयरमूल्य अझै घट्न सक्ने आँकलन गरेका छन् ।
बीमा कम्पनीलाई पुनर्बीमाको हिस्साबमोजिम भुक्तानी गर्नुपर्ने भएकाले ठूलो रकमको दायित्वले पुनर्बीमा कम्पनीहरूको वित्तीय अवस्थामा प्रभाव पार्न सक्ने उनीहरूको अनुमान छ ।
ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले बाढीपहिरोबाट जलविद्युत् आयोजनालगायतका क्षेत्रमा भएको क्षतिको अन्तिम भार पुनर्बीमा कम्पनीसम्म पुग्ने भएकाले दुई पुनर्बीमा कम्पनीको सेयरमूल्य अझै दबाबमा पर्न सक्ने बताए ।
‘बाढीपहिरोबाट हाइड्रोलाई क्षति भए पनि हाइड्रोको बीमा गरिएको हुन्छ । क्षति मूल्यांकनपछि हाइड्रोलाई बीमाको भुक्तानी निर्जीवन बीमा कम्पनीले दिन्छ । त्यसपछि पुनर्बीमा सम्झौताअनुसार निर्जीवन बीमकले पुनर्बीमा कम्पनीसँग दाबी गर्छ,’ ब्रोकर हाउसका एक लगानीकर्ताले भने, ‘जसरी पनि अन्तिममा पुनर्बीमा कम्पनीलाई नै दबाब पर्छ । त्यसैले केही दिनयता दुई पुनर्बीमा कम्पनीकै सेयरमूल्यमा ठूलो गिरावट आएको हो ।’
यस्तै, ब्रोकर हाउसका अन्य लगानीकर्ताले नेपाल रि र हिमालयन रिको सेयरमूल्यमा अब ठूलो चलखेल हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
‘जेनजी आन्दोलनको समयमा पनि ठूलो क्षतिपछि बीमा कम्पनीमा ठूलो दाबी परेको थियो । त्यो बेला पनि पुनर्बीमा कम्पनीको दायित्व बढ्ने भन्दै सेयरमूल्यमा चलखेल भएको चर्चा चलेको थियो,’ एक लगानीकर्ताले भने, ‘त्यो बेला दुई कम्पनीकै सेयरमा ठूलो उतारचढाव देखिएको थियो । अहिले पनि त्यस्तै अवस्था नआउला भन्न सकिन्न ।’
वित्तीय अवस्था देखाउँदै मूल्य घटाउने प्रपञ्च ?
ब्रोकर हाउसका लगानीकर्ताले दुई पुनर्बीमा कम्पनीको सेयरमूल्य घट्न सक्ने आँकलन दायित्व बढ्न सक्ने सम्भावनामा मात्र सीमित राखेका छैनन् । उनीहरूले कम्पनीहरूको पछिल्लो वित्तीय अवस्थालाई समेत मूल्य घट्न सक्ने आधारका रूपमा प्रस्तुत गरेका छन् ।
लगानीकर्ताहरूका अनुसार पछिल्ला वित्तीय विवरणमा दुवै पुनर्बीमा कम्पनीको नाफा तथा प्रतिफलसम्बन्धी सूचक कमजोर देखिएका छन् । उनीहरूले यही वित्तीय अवस्थालाई आधार बनाएर बजारमा नकारात्मक धारणा निर्माण हुन सक्ने बताएका छन् ।
गत आर्थिक वर्ष चौथो त्रैमासिक रिपोर्टअनुसार हिमालयन रि इन्स्योरेन्स ३ अर्ब ४४ करोड रुपैयाँ घाटामा रहेको र कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.५० रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपाल रि इन्स्योरेन्स पनि ५ अर्ब ८४ करोड रुपैयाँ घाटामा रहेको र कम्पनीको ईपीएस ४३.५१ रुपैयाँ ऋणात्मक रहेको छ ।
तर, वित्तीय विवरणमा देखिएको घाटा र सेयरमूल्यबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुअघि ती घाटाको प्रकृति, पुनर्बीमा दाबीको प्रावधान, लगानी आम्दानी, दाबी भुक्तानी तथा अन्य लेखांकन पक्षसमेत विश्लेषण गर्नुपर्ने हुन्छ ।
जेनजी आन्दोलनको घटनासँग तुलना
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा दाबी तीव्र रूपमा बढेको थियो । बीमा कम्पनीहरूमा २० अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको समाचार सार्वजनिक भएपछि पुनर्बीमा कम्पनीहरूले समेत ठूलो दाबी बेहोर्नुपर्ने बजार मनोविज्ञान बनेको थियो ।
त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको थियो । तत्कालीन बजार रिपोर्टअनुसार नेपाल रि इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत र हिमालयन रिको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको थियो ।
त्यसपछि नेपाल रि इन्स्योरेन्सको सेयर कारोबारलाई लिएर संगठित रूपमा मूल्य प्रभावित पारिएको आरोपसम्बन्धी रिपोर्टसमेत सार्वजनिक भएको थियो । उक्त रिपोर्टमा केही प्रभावशाली लगानीकर्ता तथा संस्थासँग जोडिएका कारोबारबारे प्रश्न उठाइएको थियो ।
यसरी हेर्दा जेनजी आन्दोलनपछि ठूलो बीमा दाबीको समाचार सार्वजनिक भएको समयमा नेपाल रि र हिमालयन रिको सेयरमा तीव्र उतारचढाव देखिएको थियो । नेपाल रिको सेयर कारोबारमा चलखेलको आरोपसमेत सार्वजनिक भएको थियो ।
अहिले बाढीपहिरोपछि पुनर्बीमा दायित्व बढ्ने चर्चासँगै पुनः यी दुई कम्पनीको सेयरमूल्यबारे निश्चित अंकलाई लक्ष्य बनाएर प्रचार हुन थालेको छ । यसले बजारमा विगतको घटनासँग तुलना गर्न थालिएको छ ।
तर अहिलेको अवस्थामा ४०० रुपैयाँ र ६०० रुपैयाँका मूल्य लक्ष्यलाई आधिकारिक प्रक्षेपणका रूपमा लिन सकिने आधार छैन । वास्तविक दाबी कति पर्छ, पुनर्बीमा कम्पनीले कति हिस्सा बेहोर्नुपर्छ र त्यसको वित्तीय प्रभाव कति हुन्छ भन्ने स्पष्ट भएपछि मात्रै दुई कम्पनीको सेयरमूल्यमा पर्ने सम्भावित प्रभावबारे ठोस निष्कर्ष निकाल्न सकिन्छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।