काठमाण्डौ । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाभित्र फसेकाहरूको उद्धार प्रयास निर्णायक चरणतर्फ पुगेको छ।
उद्धारमा खटिएको टोलीले भोलि बिहानसम्म आयोजनाको पावरहाउस क्षेत्रमा पुग्ने लक्ष्यसहित सुरुङभित्र निरन्तर काम गरिरहेको छ।
सुरुङ उद्धारमा संलग्न प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार अहिले उद्धार टोली पावरहाउसबाट करिब १२० मिटरको दूरीमा पुगेको छ।
उनले सुरुङतर्फको अवरोध हटाउँदै पावरहाउससम्म पहुँच बनाउने काम तीव्र गतिमा भइरहेको र अहिलेकै रफ्तार कायम रहे भोलि बिहानसम्म पावरहाउसमा पुग्न सकिने अनुमान गरिएको जानकारी दिएका छन्।
न्यौपानेका अनुसार उद्धारकर्ताले पार गर्नुपर्ने करिब १६० मिटरमध्ये ठूलो हिस्सा पार गरिसकेका छन् र अब करिब १२० मिटर दूरी बाँकी छ।
‘टनेल अब पावरहाउसबाट करिब १२० मिटर मात्र टाढा छ। भोलि बिहानसम्म पावरहाउस पुग्ने अनुमानसहित काम भइरहेको छ,’ उनले उल्लेख गरेका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको संरचनाभित्र मानिस फसेको आशंकामा सुरुङमार्फत उद्धार प्रयास जारी छ।
पावरहाउससम्म पुग्न सकेमा त्यहाँको वास्तविक अवस्था यकिन हुनुका साथै फसेकाहरूको खोजी तथा सम्भावित उद्धारमा महत्वपूर्ण सफलता हासिल हुने अपेक्षा गरिएको छ।
अहिले सबैको ध्यान सुरुङमार्फत पावरहाउससम्म पुग्ने यो प्रयासमा केन्द्रित भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।