शुक्रबार, भाद्र १९,२०८३ 04:28:25
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 04:28:25
Bizshala
Global IME Bank Limited

रसुवा बाढीको भयावह अपडेट : १,२८७ शव फेला, ५ हजारभन्दा बढी सम्पर्कविहीन, क्षति ३ खर्ब ८७ अर्ब

रसुवा बाढीको भयावह अपडेट : १,२८७ शव फेला, ५ हजारभन्दा बढी सम्पर्कविहीन, क्षति ३ खर्ब ८७ अर्ब
New Office

 

काठमाण्डौ । भोटेकोशी हुँदै त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यससँग जोडिएका विपद्का कारण मृत्यु हुनेको संख्या १ हजार २८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्याह्नसम्म सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म फेला परेका शवमध्ये ९६ जनाको मात्रै सनाखत हुन सकेको छ।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै ३५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव भेटिएको छ।

विपद्पछि अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। तीमध्ये ५८३ जना विदेशी नागरिक छन्।

सम्पर्कविहीन हुनेमा नुवाकोटका २ हजार ३४० र रसुवाका २ हजार १३० जना रहेको प्राधिकरणले जनाएको छ। पहिचान हुन नसकेका केही शवसमेत सम्पर्कविहीनको सूचीमा परिरहेको हुनसक्ने अनुमान गरिएको छ।

विपद्मा हालसम्म ५ हजार ३९७ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्य टोलीमार्फत उपचार भइरहेको छ।

उद्धार अभियानअन्तर्गत हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएकामध्ये ३०३ जना विदेशी नागरिक छन्।

शुक्रबार मात्रै माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। लामो समय सम्पर्कविहीन अवस्थामा रहेका उनीहरूको उद्धारले अन्य प्रभावित क्षेत्रमा जारी खोजी अभियानमा पनि आशा थपेको छ।

हवाई उद्धारमा समेत व्यापक स्रोत परिचालन गरिएको छ। नेपाली सेनाले हालसम्म ८३० पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरेका छन्।

देशभर उद्धार तथा राहतका लागि २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

आर्थिक क्षति झण्डै चार खर्ब

मानवीय क्षतिसँगै बाढीले अर्थतन्त्र र पूर्वाधारमा समेत विशाल क्षति पुर्‍याएको छ।

प्राधिकरणको प्रारम्भिक आकलनअनुसार कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

तत्काल तथा शीघ्र पुनर्लाभका लागि मात्रै करिब ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

बाढीबाट ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ। त्यस्तै ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण वा आंशिक क्षति भएको छ।

यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।

राहत ढुवानी तीव्र

प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कामलाई पनि तीव्र बनाइएको छ।

काठमाडौंबाट हालसम्म ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्य राहत सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत रसुवा र नुवाकोटमा राहत सामग्री पुर्‍याएको छ।

सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद सहायता उपलब्ध गराएको छ। त्यसैगरी प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ।

सञ्चार सेवा पनि क्रमशः पुनःस्थापना

बाढीले प्रभावित बनाएका दूरसञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेका छन्।

नेपाल टेलिकमका प्रभावित १२० टावरमध्ये ११६ वटा पुनः सञ्चालनमा आएका छन्। एनसेलका ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा फर्किएका छन्।

मानवीय क्षति, सम्पर्कविहीनको ठूलो संख्या र झण्डै चार खर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानीले भोटेकोशी–त्रिशूली विपद्लाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो राष्ट्रिय विपत्तिमध्ये एक बनाएको छ।

अब सरकारका लागि एकातिर हजारौँ सम्पर्कविहीनको खोजीलाई तीव्र पार्नु छ भने अर्कोतिर प्रभावित क्षेत्रको राहत, पुनःस्थापना र विशाल पुनर्निर्माण चुनौती सामना गर्नुपर्ने देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.