काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा आह्वान गरेको हो।
बैठकले आगामी जेठ १७ गते बिहीबारका दिन तीनकुने काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनु्पम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च अनुमोदन गरिनुका साथै कम्पनीको प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोही बमोजिम आवश्यक आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
यसैगरी नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।