Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 03:44:39
Bizshala
Global IME Bank Limited

मध्यपूर्व तनाव चर्किएपछि कच्चा तेलको मूल्य १०० डलर पुग्यो

मध्यपूर्व तनाव चर्किएपछि कच्चा तेलको मूल्य १०० डलर  पुग्यो
New Office

काठमाण्डौ । मध्यपूर्वमा जारी द्वन्द्व थप चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजारको प्रमुख बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य बुधबार प्रतिब्यारेल १०० डलर नाघेको छ।

ब्रेन्ट क्रुडको मूल्य एक समय प्रतिब्यारेल १००.१९ डलर पुगेको थियो। पछि केही घटेको थियो । यो समाचार तयार पार्दासम्म ब्रेन्ट क्रुडको मूल्य १.९४ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.८२ डलर पुगेको छ ।

त्यस्तै डब्लूटीआई क्रुडको मूल्य १.५८ प्रतिशतले बढेर ९४.५० डलर प्रतिब्यारेल पुगेको छ।

ब्रेन्टको मूल्य गत महिनाको सुरुदेखि करिब २५ प्रतिशतले बढिसकेको छ। अमेरिकी–इरान द्वन्द्वको स्थायी समाधानको सम्भावना कमजोर हुँदै गएपछि तेल बजारमा आपूर्ति अवरोधको जोखिम बढेको विश्लेषण गरिएको छ।

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता ब्रेन्ट क्रुडको मूल्य एक समय १२६.४१ डलर प्रतिब्यारेलसम्म पुगेको थियो। अप्रिल ३० मा पुगेको उक्त मूल्य यस अवधिको उच्चतम स्तर हो।

यसै साता इरान समर्थित हुथी समूहले साउदी अरबका ऊर्जा पूर्वाधारमा गरेको आक्रमणले मध्यपूर्वको ऊर्जा आपूर्ति प्रणालीमाथि थप दबाब सिर्जना गरेको छ। आक्रमणका कारण केही तेलसम्बन्धी पूर्वाधारमा आगलागी हुनुका साथै द्वन्द्व थप फैलिन सक्ने चिन्ता बढेको छ।

आक्रमणले रेड सी हुँदै हुने कच्चा तेलको ढुवानीमा समेत जोखिम बढाएको छ। होर्मुज जलडमरूमध्यबाट हुने तेल आपूर्ति प्रभावित भएपछि रेड सी महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बजार सहभागीले मध्यपूर्वको द्वन्द्व लामो समयसम्म जारी रहने र पछिल्ला सैन्य आक्रमणले क्षेत्रबाट हुने तेल आपूर्तिमा थप अवरोध ल्याउन सक्ने जोखिमलाई मूल्यमा समेट्न थालेका छन्।

विशेषगरी खाडी क्षेत्रमा तेल ट्यांकरमाथिका आक्रमण बढेमा जहाजबाट जहाजमा तेल स्थानान्तरण गर्ने गतिविधि घट्न सक्ने जोखिम रहेको छ। यस्तो स्थानान्तरणले पछिल्लो समय विश्व बजारमा तेल आपूर्ति कायम राख्न महत्वपूर्ण भूमिका खेलेको थियो।

तेल आपूर्तिमा जोखिम बढेसँगै प्रमुख अन्तर्राष्ट्रिय बैंकहरूले समेत कच्चा तेलको मूल्यसम्बन्धी आफ्नो प्रक्षेपण परिमार्जन गर्न थालेका छन्। गोल्डम्यान स्याक्स, बैंक अफ अमेरिका र एचएसबीसी लगायतका बैंकले पछिल्ला दिनमा तेलको मूल्य प्रक्षेपण बढाएका छन्।

हर्मुज जलमार्गबाट हुने तेल प्रवाह एक समय दैनिक ८ देखि ९० लाख ब्यारेलसम्म पुगे पनि पछिल्लो समय घटेर २० लाख ब्यारेल प्रतिदिनभन्दा कम भएको छ।

यसबीच अमेरिका, क्यानडा र गुयाना जस्ता गैर–ओपेक उत्पादक राष्ट्रले तेल उत्पादन बढाइरहेका छन्। तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यस वर्ष विश्वव्यापी तेल आपूर्ति दैनिक ४३ लाख ब्यारेल अर्थात् करिब ४ प्रतिशतले घट्न सक्ने प्रक्षेपण गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.