काठमाण्डौ । रसुवा–भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ३७७ पुगेको छ भने अझै ५ हजार १३० जना बेपत्ता रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीपछिको खोज, उद्धार, उपचार तथा राहतसम्बन्धी पछिल्लो अवस्था सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
त्यस्तै, बाढीमा घाइते भएर उपचारका लागि काठमाण्डौ ल्याइएका दुई जनाको उपचारकै क्रममा मृत्यु भएको छ।
हालसम्म फेला परेका शवमध्ये १०४ वटाको मात्रै सनाखत हुन सकेको छ। ठूलो संख्यामा शवको पहिचान हुन बाँकी रहँदा हजारौँ परिवार अझै आफ्ना आफन्तको खोजीमा छन्।
५ हजार १३० जना अझै बेपत्ता
प्राधिकरणका अनुसार हालसम्म ५ हजार १३० जना बेपत्ता सूचीमा छन्। तीमध्ये ठूलो संख्या रसुवा र नुवाकोट क्षेत्रका रहेका छन्।
बाढीको दुई साताभन्दा बढी समय बितिसक्दा पनि हजारौँ मानिसको अवस्था अज्ञात रहनुले विपद्को मानवीय क्षति अझै पूर्ण रूपमा यकिन हुन नसकेको देखिन्छ।
खोज तथा उद्धार कार्य प्रभावित नदी क्षेत्र, बस्ती तथा अन्य सम्भावित स्थानमा जारी राखिएको छ।
१३ हजार ६५६ जनाको उद्धार
विपद्पछि हालसम्म १३ हजार ६५६ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार गरिएका तथा विस्थापित नागरिकका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। तीमध्ये नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना आश्रित छन्।
घाइते तथा बिरामीको उपचार पनि विभिन्न अस्पतालमा जारी छ। हाल १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोज, उद्धार, राहत तथा सुरक्षाका लागि कुल २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसमा नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।
हवाई उद्धार तथा राहत सामग्री ढुवानीका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरी बलले २७२ वटा हवाई उडान गरेका छन्।
स्वास्थ्य सेवातर्फ नेपाली सेनाले ३ हजार ५५९ र सशस्त्र प्रहरी बलले ३ हजार ६०६ जनालाई उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ।
प्रभावित १५ पालिकामा साढे १३ करोड राहत
सरकारले बाढी प्रभावित जिल्लामा नगद राहतसमेत पठाएको छ।
रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।
त्यस्तै, प्रभावित १५ वटा पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।
सडक तथा हवाईमार्गमार्फत खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम पनि जारी छ।
मृतकको संख्या निरन्तर बढ्दै जानु, हजारौँ मानिस अझै बेपत्ता रहनु र ठूलो संख्यामा परिवार विस्थापित हुनुका कारण रसुवा–भोटेकोशी बाढी पछिल्लो समयको सबैभन्दा ठूलो मानवीय विपद्मध्ये एक बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।