काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाउँदै दमदार सुरुवात गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
नबिलले एक महिनामै ८८ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले ३ अर्ब ९ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने कर्जा तथा सापटीबाट मात्रै २ अर्ब ५२ करोड ४६ लाख रुपैयाँ ब्याज कमाएको छ।
नाफामा ग्लोबल आईएमई बैंक दोस्रो बनेको छ। बैंकले साउनमा ८१ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आईएमईको ब्याज आम्दानी ३ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ छ, जुन वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि ७३ करोड ४४ लाख रुपैयाँ नाफासहित आर्थिक वर्षको बलियो सुरुवात गरेको छ।
कुमारी बैंक ५४ करोड ७१ लाख रुपैयाँ नाफासहित चौथो स्थानमा छ। राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख र प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख रुपैयाँ नाफा कमाएका छन्।
लक्ष्मी सनराइजले ४९ करोड ६८ लाख, एभरेष्टले ४९ करोड २२ लाख र एनएमबी बैंकले ४७ करोड ९० लाख रुपैयाँ नाफा गरेका छन्। यी बैंक साउनमै करिब आधा अर्ब रुपैयाँ नाफा कमाउने समूहमा परेका छन्।
कुन बैंकको नाफा कति ?

सिद्धार्थ बैंकले ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाउँदै शीर्ष १० मा स्थान बनाएको छ। कृषि विकास बैंकले ३८ करोड ८३ लाख र सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ नाफा गरेका छन्।
अघिल्लो आर्थिक वर्ष खराब कर्जाका कारण अर्बभन्दा बढी घाटामा गएको प्रभू बैंकले साउनमा ३२ करोड ९४ लाख रुपैयाँ नाफा देखाएको छ। तर बैंकसँग ६ अर्ब ३१ करोड रुपैयाँ सञ्चित घाटा, २५ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था र ६ अर्ब रुपैयाँभन्दा बढी ब्याज सस्पेन्स रहेकाले एक महिनाको नाफालाई पूर्ण सुधारको संकेत मान्न सकिँदैन।
नेपाल बैंकको नाफा ३० करोड ८६ लाख रुपैयाँ छ। हिमालयन र माछापुच्छ्रे बैंकको नाफा लगभग बराबर छ। हिमालयनले २७ करोड ३० लाख र माछापुच्छ्रेले २७ करोड २८ लाख रुपैयाँ नाफा गरेका छन्।
तल्लो समूहमा सिटिजन्सले २५ करोड ९३ लाख, एनआईसी एशियाले २२ करोड १७ लाख र स्ट्यान्डर्ड चार्टर्डले २० करोड ३९ लाख रुपैयाँ नाफा गरेका छन्। सबैभन्दा कम नाफा नेपाल एसबीआई बैंकको छ। बैंकले साउनमा १७ करोड ५९ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ।
रकमका आधारमा नबिल, ग्लोबल आईएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुरुवात सबैभन्दा बलियो देखिएको छ। तर यो एक महिनाको प्रारम्भिक तथ्यांक भएकाले बैंकहरूको वास्तविक वित्तीय स्वास्थ्य मूल्यांकन गर्दा खराब कर्जा, प्रोभिजनिङ, पूँजी पर्याप्तता र असुलीको अवस्थासमेत हेर्नुपर्ने हुन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।