काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालको बाह्य क्षेत्र सन्तोषजनक देखिएको छ। समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति पनि ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको थियो। यस वर्ष सो बचत अझ बढेको देखिएको हो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५६ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोड डलरले बचतमा पुगेको छ।
त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ८९ अर्ब ३० करोड रुपैयाँ थियो। यद्यपि अमेरिकी डलरमा भने शोधनान्तर बचत केही घटेको देखिएको छ। अघिल्लो वर्ष ६४ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति यसपटक ५९ करोड डलरमा सीमित भएको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर भने ६३ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
यता, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) मा भने सुधार देखिएको छ। समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६९ करोड रुपैयाँ मात्रै रहेको थियो।
चालु खाता, शोधनान्तर र प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांकले बाह्य क्षेत्र तुलनात्मक रूपमा सकारात्मक दिशामा रहेको संकेत गरे पनि पुँजीगत ट्रान्सफरमा आएको कमीले भने थप सुधारको आवश्यकता देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।