काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालको वस्तु निर्यात उल्लेख्य रूपमा बढे पनि आयातको उच्च वृद्धिका कारण व्यापार घाटा झन् चुलिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९५.७ प्रतिशतले बढेको थियो।
गन्तव्यका आधारमा भारततर्फको निर्यात ७१ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात २८७.८ प्रतिशतले वृद्धि भएको छ। अन्य मुलुकतर्फको निर्यात १८.१ प्रतिशतले बढेको छ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिष्टर धागो, जुटका सामान र पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ। तर औषधी (आयुर्वेदिक), प्रशोधित छाला, खोटो, जडीबुटी, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तुको निर्यात घटेको छ।
यसै अवधिमा कुल वस्तु आयात ३१ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ११.४ प्रतिशतले बढेको थियो।
भारतबाट हुने आयात २२.६ प्रतिशत, चीनबाट १३.४ प्रतिशत र अन्य मुलुकबाट हुने आयात ६९ प्रतिशतले वृद्धि भएको छ।
पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल, तेलहन र कच्चा भटमासको तेललगायतका वस्तुको आयात बढेको छ। धान तथा चामल, सुन, अलकत्रा, कोइला, मेडिकलका सामान तथा पार्टपुर्जालगायतका वस्तुको आयात भने घटेको छ।
निर्यातमा उच्च वृद्धि देखिए पनि आयात अझ ठूलो परिमाणमा बढेका कारण व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात भने सुधार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा १६.७ प्रतिशत रहेको यस्तो अनुपात यस वर्ष २०.६ प्रतिशत पुगेको छ।
यसैगरी, समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ४३ करोड रुपैयाँ बराबर रहेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।