काठमाण्डौ । थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ। कम्पनीले नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते मंगलबार एकैसाथ आयोजना गर्ने भएको हो।
कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को वार्षिक साधारणसभा एकैपटक सम्पन्न गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित स्मार्ट दरबारमा बिहान १० बजेदेखि सुरु हुनेछ।
सभाको सबैभन्दा महत्वपूर्ण एजेन्डाका रूपमा हाल कायम एक सेयरबराबर अर्को एक सेयर अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखिएको छ। यसअनुसार कम्पनीले चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव सेयरधनीबाट अनुमोदन गराउनेछ।
कम्पनीको हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाख रुपैयाँ छ। शतप्रतिशत हकप्रद जारी भएमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न सक्नेछ। त्यसबाट कम्पनीले ४९ करोड २५ लाख रुपैयाँ पूँजी जुटाउनेछ भने हकप्रदपछि चुक्तापूँजी बढेर ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ। कम्पनीका कुल ४९ लाख २५ हजार कित्ता सेयर हाल नेप्सेमा सूचीकृत छन्। कम्पनी विवरण
यद्यपि साधारणसभाले पारित गर्दैमा हकप्रद तत्काल निष्कासन हुने भने होइन। सभाको स्वीकृतिपछि कम्पनीले विद्युत् नियमन आयोगलगायत सम्बन्धित निकायबाट सहमति तथा नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति लिनुपर्नेछ। सबै नियामकीय प्रक्रिया पूरा भएपछि मात्रै सेयरधनीले हकप्रद भर्न पाउनेछन्।
तीन वर्षको हिसाब एकै सभाबाट पारित गरिँदै
सभामा तीनवटै आर्थिक वर्षका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ। आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरण अनुमोदन गरिनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि नियुक्त लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गरिनेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
कम्पनीले एक महिलासहित तीनजना सञ्चालकको निर्वाचन गर्नेछ। सञ्चालक समिति गठनसम्बन्धी प्रस्तावसमेत सभाको कार्यसूचीमा राखिएको छ।
ठेगाना र पूँजी संरचना पनि परिवर्तन हुने
विशेष प्रस्तावअन्तर्गत कम्पनीको ठेगाना परिवर्तन, पूँजी संरचना संशोधन तथा हकप्रद सेयर निष्कासनसँग सम्बन्धित हदसम्म अधिकृत र जारी पूँजी परिवर्तन गर्ने प्रस्ताव पारित गरिनेछ।
हकप्रद निष्कासनका कारण कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थपघट वा निर्देशन आएमा त्यसअनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लगिनेछ।
असोज १५ गते बुक क्लोज
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन सेयर दाखिला खारेज अर्थात् बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीले सभामा भाग लिन, छलफल गर्न तथा मतदान गर्न पाउनेछन्।
बुक क्लोजको यो मिति साधारणसभामा सहभागिताका लागि मात्र हो। प्रस्तावित शतप्रतिशत हकप्रद सेयर पाउने सेयरधनी निर्धारणका लागि कम्पनीले नियामकीय स्वीकृति प्राप्त गरेपछि छुट्टै बुक क्लोज मिति घोषणा गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।