आईतवार, आश्विन ४,२०८३ 11:28:33
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 11:28:33
Bizshala
Global IME Bank Limited

खरानीबाट फेरि उठ्यो भाटभटेनी : ध्वस्त १२ मध्ये १० स्टोर पुनःसञ्चालन, सोमबारदेखि टंगाल पनि खुल्ने

खरानीबाट फेरि उठ्यो भाटभटेनी : ध्वस्त १२ मध्ये १० स्टोर पुनःसञ्चालन, सोमबारदेखि टंगाल पनि खुल्ने
New Office

काठमाण्डौ । आगजनीबाट ध्वस्त बनेका आफ्ना स्टोरहरूलाई क्रमशः पुनर्जीवन दिँदै आएको भाट–भटेनी सुपर मार्केटले काठमाण्डौको टंगालस्थित स्टोर पनि पुनः सञ्चालनमा ल्याउने भएको छ।

भाट–भटेनीका अनुसार टंगालस्थित सुपर स्टोर असोज ५ गते सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउनेछ। त्यसपछि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन्।

टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै आगजनीबाट ध्वस्त भएका भाट–भटेनीका १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आउनेछन्। बाँकी दुईवटा दमक र हेटौँडाका स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

दमक र हेटौँडाका स्टोरमा संरचनागत सुधार, उपकरण व्यवस्थापन तथा आन्तरिक निर्माणको काम भइरहेको छ। पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई विशेष ध्यान दिइएको उल्लेख गर्दै कम्पनीले ती स्टोरबाट पनि छिट्टै ग्राहक सेवा सुरु गर्ने लक्ष्य राखेको जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

‘आँखैअगाडि स्टोर जलिरहे, तर हार मानेनौँ’

भाट–भटेनीले आफ्नो पुनरागमनलाई केवल व्यापार पुनःसञ्चालन नभई ठूलो क्षतिपछिको संस्थागत पुनर्निर्माणका रूपमा प्रस्तुत गरेको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मनमा पीडा र आँखामा आँसु हुँदाहुँदै पनि कम्पनीले जिम्मेवारीबाट पछि नहट्ने निर्णय गरेको बताएका छन्।

“आँखैअगाडिका स्टोरमा आगो बलिरहेका थिए। तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ। कर्मचारीप्रतिको जिम्मेवारी तथा भूकम्प र कोभिडका बेला भाटभटेनीले पुर्‍याएको योगदान सम्झियौँ,” गुरुङले भनेका छन्, “त्यसपछि हामी एउटा निष्कर्षमा पुग्यौँ-खरानीबाट फेरि उठ्नेछौँ।”

कम्पनीका अनुसार आगजनीपछि तातो खरानी, फलाम र इँटा पन्छाउँदै एक साताभित्रै पुनर्निर्माणको काम थालिएको थियो। पूर्ण रूपमा जलेको कोटेश्वरस्थित स्टोर आगजनी भएको पाँच महिनामै पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

त्यसपछि क्षतिग्रस्त स्टोरहरूको पुनर्निर्माणलाई क्रमशः अघि बढाउँदै टंगालसहित १० वटा स्टोर ग्राहक सेवामा फर्काउन सफल भएको कम्पनीको दाबी छ।

१० हजारभन्दा बढी कर्मचारीको रोजगारी जोगाएको दाबी

ठूलो भौतिक तथा आर्थिक क्षति बेहोर्नुपरे पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको जनाएको छ।

आगजनीपछि कर्मचारीलाई जागिरबाट नहटाइएको तथा दसैँमा पाउने बोनससमेत कटौती नगरिएको भाट–भटेनीको दाबी छ। पुनः सञ्चालनमा आएका स्टोरहरूमा कर्मचारीको भूमिकालाई निरन्तरता दिइएको पनि कम्पनीले उल्लेख गरेको छ।

व्यावसायिक संरचना ध्वस्त भएको अवस्थामा ठूलो संख्यामा कर्मचारीको रोजगारी कायम राख्नु कम्पनीका लागि वित्तीय र व्यवस्थापकीय रूपमा चुनौतीपूर्ण थियो। तर कर्मचारीलाई संस्थाको पुनर्निर्माण प्रक्रियाकै हिस्साका रूपमा अघि बढाइएको भाटभटेनीले जनाएको छ।

चौबीसै घण्टा पुनर्निर्माण

पूर्ण रूपमा जलेका स्टोर पुनर्निर्माण गर्न ठूलो लगानी, स्रोत र समय आवश्यक पर्ने भए पनि चौबीसै घण्टा काम गरेर सेवा पुनः सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।

स्टोर सञ्चालनमा ल्याउन भवनको संरचनागत पुनर्निर्माणसँगै विद्युतीय प्रणाली, सुरक्षा संरचना, बिक्री कक्ष, भण्डारणस्थल, उपकरण तथा आन्तरिक सजावट पुनः तयार गर्नुपरेको थियो। यति ठूलो पुनर्निर्माण प्रक्रियाबीच पनि कम्पनीले ग्राहक सेवामा लामो अवरोध आउन नदिने गरी कामलाई तीव्रता दिएको जनाएको छ।

Muktinath Bikas Bank Limited

बाल अस्पतालमा ७१ करोड रुपैयाँभन्दा बढी खर्च

भाट–भटेनीले व्यावसायिक पुनर्निर्माणसँगै आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिएको जनाएको छ। काठमाण्डौमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि प्रतिबद्धताअनुसार सहयोग उपलब्ध गराइएको कम्पनीले उल्लेख गरेको छ।

उक्त अस्पतालका लागि भाट–भटेनीले ७१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाएको छ। नेपाली बालबालिकाले एउटै भवनबाट अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अस्पतालमा सहयोग गरिएको अध्यक्ष गुरुङको भनाइ छ।

आफैँ ठूलो क्षति र पुनर्निर्माणको दबाबमा रहेको अवस्थामा पनि बाल अस्पतालप्रतिको प्रतिबद्धता पूरा गर्नुलाई कम्पनीले सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ।

ग्राहक र कर्मचारीलाई धन्यवाद

भाट–भटेनीले टंगाल स्टोर पुनः सञ्चालनको अवसरमा ग्राहक, कर्मचारी, शुभेच्छुक तथा पुनर्निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

“हाम्रो दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरू, चौबीसै घण्टा खटेर पुनर्निर्माणको काममा साथ दिने कर्मचारी र स्टोर पुनः सञ्चालनको पर्खाइमा बस्नुभएका भगवानरूपी ग्राहकप्रति नमन गर्न चाहन्छौँ,” कम्पनीले भनेको छ।

आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाउँदै कम्पनीले आगामी दिनमा पनि ग्राहक र सरोकारवालाको साथ तथा विश्वासको अपेक्षा गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.