काठमाण्डौ। अमेरिका र इरानबीचको तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमै यस विषयमा ‘ठूला घटनाक्रम’ हुन सक्ने बताएका छन्। उनले अमेरिका–इरान द्वन्द्वका सम्बन्धमा निर्णय लिने अधिकार आफूमा रहेको बताएका हुन्।
फक्स न्युजका अनुसार ट्रम्पले आफ्ना प्रमुख विदेश संवाददातासँग कुराकानी गर्दै आवश्यक परे इरानविरुद्ध थप कडा कदम चाल्न सकिने संकेत गरेका छन्। उनले इरानले उचित व्यवहार गर्नुपर्ने धारणा व्यक्त गर्दै त्यसो नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको समाचारमा उल्लेख छ।
इरानबाट युद्ध अन्त्यका लागि मागहरूको सूची प्राप्त भएको दाबी गर्दै ट्रम्पले आफू इरानी राष्ट्रपतिसँग भेटवार्ता गर्न तयार रहेको बताएका छन्। उनका अनुसार अमेरिका–इरान विवाद समाधानका लागि अहिले तीन विकल्पमा छलफल भइरहेको छ। उनले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने, आर्थिक दबाबमार्फत कमजोर बनाउने वा सम्झौता गर्ने विकल्पबारे उल्लेख गरेका छन्।
यसैबीच, बीबीसी फारसीका अनुसार इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले अमेरिका र इरानबीच पुनः युद्ध सुरु भए अमेरिकी सैन्य जहाजलाई लक्षित गर्न सक्ने चेतावनी दिएका छन्। उनले अमेरिकी जहाजहरू हिन्द महासागरबाट बाहिर ननिस्किएसम्म जहाँ भए पनि आक्रमण गर्ने दाबी गरेका छन्।
रेजाइले इरानले आफ्नो सैन्य क्षमतामा सुधार गरेको दाबीसमेत गरेका छन्। उनका अनुसार इरानले हाइपरसोनिक मिसाइलको गति म्याक ६ बाट म्याक १० सम्म पुर्याएको छ। साथै, इलेक्ट्रोनिक युद्ध प्रणाली र हवाई प्रतिरक्षा प्रणालीमा समेत सुधार गरिएको उनको भनाइ छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
यसअघि आइतबार इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले केही क्षेत्रीय मुलुकको सहयोगमा अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरिरहेको सूचना प्राप्त भएको दाबी गरेको थियो।
यसैबीच, अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार राष्ट्रपति ट्रम्प आफ्नो सप्ताहान्तको कार्यक्रम पूरा नगरी राष्ट्रपतिको विश्रामस्थल क्याम्प डेविडबाट ह्वाइट हाउस फर्किएका छन्। ह्वाइट हाउसले भने उनको कार्यक्रम छोट्याएर ह्वाइट हाउस फर्किनुको कारण सार्वजनिक गरेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।