सोमबार, आश्विन ५,२०८३ 12:33:20
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 12:33:20
Bizshala
Global IME Bank Limited

‘नेप्सेको प्रविधि फेरि फेलः ७२ ब्रोकरको सर्भरमा समस्या, सेयर कारोबार नै स्थगित’

‘नेप्सेको प्रविधि फेरि फेलः ७२ ब्रोकरको सर्भरमा समस्या, सेयर कारोबार नै स्थगित’
New Office

काठमाडौं। नेपालको पूँजीबजारको प्रविधिगत पूर्वाधार फेरि एकपटक गम्भीर समस्यामा परेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार पूर्णरूपमा स्थगित भएको छ। ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएको डाटा सेन्टरमै प्राविधिक समस्या आएपछि नेप्सेले आज(असोज ५ गते)को नियमित कारोबार सत्र स्थगित गर्नुपरेको हो।

नेपालको सेयर बजार पूर्णतः विद्युतीय प्रणालीमा निर्भर भइसकेको अवस्थामा एउटा डाटा सेन्टरमा आएको समस्या एक दिनभन्दा बढी समयसम्म समाधान हुन नसक्दा समग्र बजार नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ। घटनाले नेप्से र बजारसम्बद्ध निकायको प्राविधिक पूर्वाधार, ब्याकअप प्रणाली र आकस्मिक जोखिम व्यवस्थापनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेका अनुसार उसका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या आएको थियो। समस्या समाधानका लागि पहल भइरहेको भए पनि असोज ५ गतेसम्म समाधान हुन सकेन।

समस्या समाधान नभएको अवस्थामा जबर्जस्ती कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमै थप क्षति पुग्न सक्ने जोखिम देखिएको नेप्सेले जनाएको छ।

यही अवस्थालाई ध्यानमा राख्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत सोमबारको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो। त्यसपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार असोज ५ गतेको कारोबार स्थगित गर्ने निर्णय गरेको हो।

नेप्सेले कारोबार स्थगनबाट परेको असुविधाप्रति क्षमा मागेको छ। तर, प्रविधिमा आधारित पूँजीबजारमा प्राविधिक समस्या आएपछि लामो समयसम्म समाधान गर्न नसकिनु र अन्ततः बजार नै बन्द गर्नुपर्ने अवस्थाले ‘क्षमा मागेर मात्र पुग्छ?’ भन्ने प्रश्नसमेत उब्जाएको छ।

एउटा डाटा सेन्टर बिग्रिँदा बजार नै बन्द !

घटनाको सबैभन्दा गम्भीर पक्ष भनेको ७२ वटा ब्रोकर कम्पनीका सर्भर रहेको डाटा सेन्टरमा समस्या आउँदा त्यसको विकल्प तत्काल प्रयोग गरेर कारोबार सुचारु गर्न नसकिनु हो।

सेयर कारोबारमा हजारौं लगानीकर्ताले हरेक मिनेट बजारको मूल्य उतारचढावका आधारमा खरिद–बिक्रीको योजना बनाइरहेका हुन्छन्। यस्तो अवस्थामा पूर्वसूचनाबिनै पूरै कारोबार सत्र रोकिनुले लगानीकर्ताको रणनीति, खरिद–बिक्री योजना र बजार पहुँच प्रत्यक्ष प्रभावित हुन्छ।

नेपालको पूँजीबजारमा अनलाइन कारोबारको विस्तारसँगै प्रविधिमा निर्भरता तीव्र रूपमा बढेको छ। तर, सोमबारको घटनाले मुख्य प्रणालीमा समस्या आउँदा तत्काल सञ्चालनमा ल्याउन सकिने वैकल्पिक प्रणाली तथा ‘डिजास्टर रिकभरी’ संरचना व्यवहारमा कति प्रभावकारी छ भन्ने प्रश्न पुनः सतहमा ल्याएको छ।

नेप्सेको सूचनाले भने समस्याको ठ्याक्कै प्राविधिक कारण के हो, समाधान हुन कति समय लाग्ने हो, वैकल्पिक प्रणाली किन प्रयोग हुन सकेन वा आगामी कारोबार सत्र प्रभावित हुन्छ कि हुँदैन भन्ने विषय खुलाएको छैन।

यसअघि पनि नेपालको सेयर बजारमा प्रविधिगत समस्या र कारोबार अवरोधका विषय उठ्दै आएका बेला फेरि नियमित कारोबार नै स्थगित गर्नुपर्ने अवस्था आउनुले बजारको प्रविधिगत विश्वसनीयतामाथि थप बहस सुरु हुने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.