काठमाण्डौ । सेयरकारोबारमा बढाइएको पूँजीगत लाभकर घटाउने निर्णयपछि सरकारले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) समेत हटाउने तयारी गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पहिलोपटक विद्युत् महसुलमा लागू गरिएको भ्याट दुई महिनामै हटाउने दिशामा सरकार अघि बढेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आइतबार भएको छलफलमा विद्युत् महसुलमा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ।
सरकारले बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने गार्हस्थ्य ग्राहकका लागि ५ प्रतिशत तथा औद्योगिक ग्राहकका लागि १३ प्रतिशत भ्याट तोकेको थियो ।
तर, उक्त व्यवस्थाको चौतर्फी विरोध भएको थियो । स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउनुपर्ने बेलामा कर थपेर उपभोग निरुत्साहित गरिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।
सरकारले विद्युत्लाई विलासिताको वस्तु नभई आधारभूत आवश्यकता र औद्योगिक विकासको प्रमुख आधारका रूपमा प्रवद्र्धन गर्ने नीतिअनुसार भ्याट हटाउने तयारी अघि बढाएको हो ।
स्रोतका अनुसार यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराई कार्यान्वयनमा ल्याइने तयारी रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।