काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विगतमा देखिँदै आएको स्वागत तथा बिदाइको परम्परागत शैली नअपनाउने भएका छन्। उनी असोज ६ अर्थात् सेप्टेम्बर २२ मा अमेरिका जाने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाबाट दिइने सलामी नलिने तथा मन्त्री, उच्च सरकारी पदाधिकारी र कर्मचारीलाई बिदाइका लागि लाइन लागेर विमानस्थल आउन नदिने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र स्वदेश फर्किँदा मन्त्रीदेखि उच्चपदस्थ सरकारी अधिकारी तथा कर्मचारीसम्म विमानस्थल पुगेर स्वागत तथा बिदाइ गर्ने प्रचलन थियो। यसपटक भने त्यस्तो तामझाम नगर्ने तयारी गरिएको हो।
प्रधानमन्त्री शाह मंगलबार बिहानदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त रहेको बताइएको छ। साँझ बालुवाटारस्थित निवासबाट विमानस्थल जाने र त्यसअघि नै भ्रमण टोलीका अन्य सदस्य विमानस्थल प्रवेश गरिसक्ने कार्यक्रम छ।
प्रधानमन्त्रीले विमानस्थलमा भीआईपी आवागमनका लागि प्रयोग हुने बाटो भने प्रयोग गर्नेछन्। तर भीआईपी कक्षमा बसेर समय बिताउने छैनन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनी भीआईपी कक्षको बाटो हुँदै सिधै विमानतर्फ जानेछन्।
प्रधानमन्त्रीको भ्रमण संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्न केन्द्रित हुनेछ। सरकारले यसअघि नै शाह नेतृत्वको प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरिसकेको छ।
प्रधानमन्त्री शाहले महासभामा नेपालमा जलवायु परिवर्तनले पारेको प्रभाव, त्यसबाट सिर्जित विपद् तथा जलवायु न्यायको विषय उठाउने तयारी गरेका छन्। पछिल्लो भोटेकोशी–त्रिशूली बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई समेत जलवायु परिवर्तनको प्रभावसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मुलुक विपद्को अवस्थाबाट गुज्रिरहेको समयमा विदेश भ्रमणका नाममा अनावश्यक स्वागत, बिदाइ र तामझाम गर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको धारणा छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।