काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै नेपाल–मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन्। मंगलबार बिहान भएको वार्तामा दुई प्रधानमन्त्रीबीच नेपाली श्रमिकको रोजगारीसँग सम्बन्धित समस्या र समाधानका उपायबारे छलफल भएको हो।
प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी प्रक्रियामा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रणालीप्रति आफ्नो सरकारको असहमति रहेको स्पष्ट पारे। उनले यस्तो प्रणालीले श्रमिकमाथि थप आर्थिक तथा प्रशासनिक भार पर्ने भन्दै यसको स्थायी समाधानका लागि दुई देशबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग श्रममन्त्रीस्तरीय प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्न आग्रह गरे। उनले मलेसियाका श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग तत्काल वार्तामा बस्ने वातावरण बनाउनसमेत आग्रह गरेका छन्।
उनले भने, “हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ।” उनले यस विषयमा दुई देशका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखे।
जवाफमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रणालीको विरुद्धमा रहेको बताएका छन्। उनले आफ्ना श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग तत्काल समन्वय गरी विषयलाई अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।
मलेसियाले पछिल्लो समय नेपालसहित विभिन्न श्रमिक स्रोत मुलुकबाट विदेशी कामदार लैजाने प्रक्रियामा निश्चित म्यानपावर कम्पनीलाई मात्रै प्रणालीमा सूचीकृत गरेको छ। नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य भर्ती एजेन्सीका रूपमा सूचीकृत गरिएपछि नेपाल सरकारले त्यसबारे छानबिनसमेत अघि बढाएको छ।
सरकारले ती कम्पनीहरूको छनोट प्रक्रिया, कारोबार तथा मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणालीसँगको आबद्धताबारे अनुसन्धान गरिरहेको छ। यसै पृष्ठभूमिमा दुई प्रधानमन्त्रीबीच भएको वार्तालाई श्रम सम्बन्धमा देखिएको विवाद समाधानतर्फको उच्चस्तरीय संवादका रूपमा हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।